मनोयन दर्ता गराउन जाँदा बाजागाजा, तडकभडक नगर्न निर्वाचन आयुक्तको चेतावनी
आचारसंहिताले निषेध गरेका कार्य नगरी निष्ठापूर्वक मनोनयन पत्र दाखिल गर्न आग्रह गर्दै उनले भने, ‘सबै सरोकारवाला, मतदाता तथा विदेशमा रहेर नेपालको निर्वाचनलाई नजिकबाट नियालिरहेका व्यक्तिहरूको बीचमा पनि अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुँदैछ भन्ने स्पष्ट सन्देश जानेछ।’

२०८२ माघ ५ सोमबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा तथा तडकभडक नगर्न चेतावनी दिएका छन्।
सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उम्मेदवारी दर्ता गर्न जाँदा कानून र आचारसंहिताले निषेध गरेका गतिविधि नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई सचेत गराएका हुन्।
उनले बाजागाजा, जुलुस र अनावश्यक तडकभडकलाई कानूनले पूर्ण रूपमा निषेध गरेको उल्लेख गर्दै आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिए।
‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रूपमा कानूनले निषेध गरेको छ । आचारसंहिताले पनि निषेध गरेको छ,’ भण्डारीले भने।
प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले आगामी निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न हुने दाबी पनि गरे।
आचारसंहिताले निषेध गरेका कार्य नगरी निष्ठापूर्वक मनोनयन पत्र दाखिल गर्न आग्रह गर्दै उनले भने, ‘सबै सरोकारवाला, मतदाता तथा विदेशमा रहेर नेपालको निर्वाचनलाई नजिकबाट नियालिरहेका व्यक्तिहरूको बीचमा पनि अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुँदैछ भन्ने स्पष्ट सन्देश जानेछ।’
उनले यस निर्वाचनप्रति कुनै शंका वा उपशंका गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…