जसपा नेपाल र लोसपा नेपालबीच एकीकरण सम्झौता, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
दुवै दलअन्तर्गत रहेका केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संगठनहरू केन्द्रीय समन्वय समितिको निर्णयअनुसार सञ्चालन हुनेछन्। पार्टी संगठन र पार्टीगत आबद्ध संरचनाहरूको पूर्ण समायोजन नहुन्जेलसम्म हाल कायम संरचना र कार्यक्षेत्रमै क्रियाशील रहने व्यवस्था गरिएको छ।

२०८२ पुस २७ आइतबार, बेलुकी ५:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच औपचारिक रूपमा एकीकरण सम्झौता सम्पन्न भएको छ। मधेशकेन्द्रित राजनीतिमा महत्वपूर्ण पुनर्संरचनाका रूपमा हेरिएको यस एकीकरणले दुई दललाई एउटै राजनीतिक धारमा समेटेको छ।
सम्झौताअनुसार एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै रहनेछ। एकीकरण प्रक्रिया अघि बढाउन २०७९ साल पुस १३ गते दुवै दलबीच सहमति भई जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिलाई आधार मानिएको छ।
एकीकरणपछि पार्टीको चुनाव चिह्न छाता नै कायम रहनेछ। त्यस्तै पार्टीको झण्डा माथिल्लो भाग रातो, बीचमा सेतो र तल्लो भाग हरियो रंगको हुनेछ भने झण्डाको बीच भागमा छाताको चिह्न रहनेछ।
एकीकृत पार्टीको सञ्चालन तथा व्यवस्थापनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ। उक्त समितिबाट १९ सदस्यीय सचिवालय गठन गरी दैनिक संगठनात्मक गतिविधि सञ्चालन गरिनेछ। पार्टीका संरचनाहरू पूर्ण रूपमा समायोजन नहुँदासम्म केन्द्रीय समन्वय समिति नै नीतिगत तथा निर्णायक निकायका रूपमा रहनेछ।
दुवै दलअन्तर्गत रहेका केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संगठनहरू केन्द्रीय समन्वय समितिको निर्णयअनुसार सञ्चालन हुनेछन्। पार्टी संगठन र पार्टीगत आबद्ध संरचनाहरूको पूर्ण समायोजन नहुन्जेलसम्म हाल कायम संरचना र कार्यक्षेत्रमै क्रियाशील रहने व्यवस्था गरिएको छ।
सम्झौतामा २०७९ साल फागुन २९ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन सम्बन्धी निर्णय केन्द्रीय समन्वय समितिबाट गरिने र सोही निर्णयअनुसार दुवै पक्षका अधिकृत नेताहरूले संयुक्त रूपमा हस्ताक्षर गर्ने उल्लेख गरिएको छ।
यस एकीकरणले मधेशकेन्द्रित राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्दै आगामी निर्वाचन तथा राजनीतिक प्रक्रियामा संगठनात्मक शक्ति मजबुत बनाउने अपेक्षा गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…