जनमत पार्टीले नौलो गणतन्त्र र प्रदेशको स्वायत्तताका लागि सहकार्य गर्नेछः बरिष्ठ उ. कुशवाहा
वरिष्ठ उपाध्यक्ष कुशवाहाका अनुसार हालको शासन प्रणालीले संघीयताको मर्मअनुसार प्रदेशहरूलाई अधिकारसम्पन्न बनाउन नसकेको, लोकतन्त्र जनताको दैनिकीसँग जोडिन नसकेको र समावेशीता व्यवहारमा सीमित भएको अवस्था छ। “जनताको चाहना अनुरूप शासन प्रणाली सञ्चालन हुन नसक्दा असन्तोष बढिरहेको छ। त्यसको समाधान नौलो गणतन्त्र र वास्तविक प्रदेश स्वायत्ततामै निहित छ,” उनले बताए।

२०८२ मंसिर २८ आइतबार, बिहान ९:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीले देशमा विद्यमान राजनीतिक, सामाजिक तथा संरचनात्मक संकटको समाधानका लागि नौलो गणतन्त्र र प्रदेशको स्वायत्तता अपरिहार्य भएको ठहर गर्दै त्यस दिशामा समान सोच राख्ने शक्तिहरूसँग सहकार्य गर्ने स्पष्ट नीति सार्वजनिक गरेको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ई. बसन्त कुशवाहाले हालको राजनीतिक अवस्थाले मुलुकलाई नयाँ वैचारिक र संरचनात्मक रूपान्तरणतर्फ लैजानुपर्ने आवश्यकता देखाएको बताएका छन्।
वरिष्ठ उपाध्यक्ष कुशवाहाका अनुसार हालको शासन प्रणालीले संघीयताको मर्मअनुसार प्रदेशहरूलाई अधिकारसम्पन्न बनाउन नसकेको, लोकतन्त्र जनताको दैनिकीसँग जोडिन नसकेको र समावेशीता व्यवहारमा सीमित भएको अवस्था छ। “जनताको चाहना अनुरूप शासन प्रणाली सञ्चालन हुन नसक्दा असन्तोष बढिरहेको छ। त्यसको समाधान नौलो गणतन्त्र र वास्तविक प्रदेश स्वायत्ततामै निहित छ,” उनले बताए।
उनले नौलो गणतन्त्र भन्नाले केवल व्यवस्थागत नाम परिवर्तन नभई, शासन प्रणालीको चरित्र परिवर्तन जनाउँदै भने, “यो गणतन्त्र जनउत्तरदायी, पारदर्शी, समावेशी र विकासमुखी हुनुपर्छ। शक्ति केन्द्रित हुने प्रवृत्तिको अन्त्य गर्दै जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने संरचना आवश्यक छ।”
प्रदेशको स्वायत्तताबारे बोल्दै कुशवाहाले संघीय संरचनालाई बलियो बनाउन आर्थिक, प्रशासनिक र कानुनी अधिकार प्रदेशलाई हस्तान्तरण गर्नु अनिवार्य रहेको धारणा राखे। “प्रदेशहरू केन्द्रको मुख ताक्ने अवस्थाबाट मुक्त नभएसम्म संघीयता सफल हुँदैन। अधिकार, स्रोत र निर्णय क्षमता प्रदेशमै हुनुपर्छ,” उनले स्पष्ट पारे।
जनमत पार्टीले यो एजेन्डा एक्लै अघि बढाउने नभई लोकतन्त्र, संघीयता र समावेशी समानुपातिक व्यवस्थामा विश्वास गर्ने राजनीतिक शक्ति, नागरिक समाज र बौद्धिक वर्गसँग सहकार्य गर्ने नीति लिएको कुशवाहाले बताए। उनका अनुसार सहकार्य कुनै सत्ता–केन्द्रित स्वार्थका लागि नभई, प्रणालीगत सुधार र दीर्घकालीन राष्ट्रिय हितका लागि हुनेछ।
उनले मधेश, थारु, आदिवासी जनजाति, दलित, महिला तथा पछाडि पारिएका समुदायका अधिकार सुनिश्चित नगरी राजनीतिक स्थायित्व सम्भव नहुने उल्लेख गर्दै भने, “नौलो गणतन्त्रको आधार नै समावेशी न्याय हो। राज्य संरचनामा सबै समुदायको सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्छ।”
अन्त्यमा वरिष्ठ उपाध्यक्ष कुशवाहाले जनतालाई सचेत, संगठित र परिवर्तनमुखी बन्न आह्वान गर्दै भने, “जनमत पार्टी परिवर्तनको राजनीतिक शक्ति हो। हामी देशलाई निकास दिन स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेका छौं। अब समय आएको छ—पुरानो सोच होइन, नयाँ गणतन्त्र र सशक्त प्रदेशको बाटो रोज्ने।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…