जनकपुरमा नाबालिग अपहरण आरोपमा एमालेका हिरा साह भारतबाट पक्राउ
प्रहरीले हिरासहित तीन जनामाथि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि उनी भारततर्फ भागेका थिए। प्रहरी स्रोतका अनुसार उनी सीतामढीमा लुकेकै सूचनामा आधारित भएर समन्वयमार्फत पक्राउ गरिएको हो। औपचारिक पुष्टि भए पनि सार्वजनिक बयान जारी नभएको प्रहरीले जनाएको छ।

२०८२ मंसिर २४ बुधबार, बिहान ८:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा नाबालिग बलात्कार प्रकरणमा प्रहरीले उद्योगी–व्यवसायी शिवशंकर साह ‘हिरा’लाई भारतबाट पक्राउ गरेको छ। उनले बालिकालाई अपहरण गरेको आरोप लगाईएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई बिहारको सीतामढी जिल्लाबाट भारतीय सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा लिई मंगलबार राति जनकपुर ल्याइएको हो ।
नाबालिगका मामा सञ्जय महासेठलाई पनि प्रहरीले जनकपुरधामबाट नियन्त्रणमा लिएको छ। महासेठले घटनालाई कानुनी प्रक्रियाबाट जोगाएर बाहिरी रूपमा मिलापत्र गराउने प्रयास गरेको र पीडकबाट रकमसमेत लिएको आरोप छ।
प्रहरीले हिरासहित तीन जनामाथि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि उनी भारततर्फ भागेका थिए। प्रहरी स्रोतका अनुसार उनी सीतामढीमा लुकेकै सूचनामा आधारित भएर समन्वयमार्फत पक्राउ गरिएको हो। औपचारिक पुष्टि भए पनि सार्वजनिक बयान जारी नभएको प्रहरीले जनाएको छ।
धनुषाका एसपी रुगमबहादुर कुँवरको निर्देशनमा अनुसन्धान तीव्र पारिएको थियो। फरार अभियुक्तमाथि निगरानी बढाइएकै कारण केही दिनमै पक्राउ सुनिश्चित भएको प्रहरीको दाबी छ।
गत स्थानीय तहको निर्वाचनमा हिरा साह नेकपा एमालेको तर्फबाट धनुषाको एक नगरपालिकामा मेयरका उम्मेदवार बनेका थिए। उनी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष तथा मधेश प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन्। पार्टी स्रोतका अनुसार फरार अवस्थामै उनले नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधिमा मनोनयन पाएका थिए।
गत कार्तिक २२ गते जनकपुरधामको जानकी चोकस्थित एक होटलमा १३ वर्षीया बालिकालाई दुई रात बन्धक बनाएर बलात्कार गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो। पीडितका हजुरबुवा र आमा कार्तिक २३ गते बिहान होटलमै पुगेपछि बालिकाको उद्धार भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा पीडितकै काका मनोज कुमार साहलाई प्रहरीले यसअघि नै काठमाडौँबाट पक्राउ गरिसकेको छ। मनोजका बयानका आधारमा हिरा साहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। दुई जना भने अझै फरार छन्।
प्रहरीका अनुसार मनोज साह अविवाहित छन् र उनले अपराध स्वीकार गरेका छन्। उनका कथनबाट अन्य व्यक्तिहरू पनि घटनामा संलग्न रहेको पुष्टि भएको बताइएको छ।
बालिकालाई बन्धक बनाएर बलात्कार गरेको घटना पीडित पक्षलाई धम्की तथा आर्थिक प्रलोभन दिँदै गुपचुप मिलाउने प्रयास भएको अनुसन्धानबाट खुलेको छ। घटनापछि पीडित माथि समेत दबाब सिर्जना भएको र केही समयसम्म उजुरी नआए पनि प्रहरीले स्वतः संज्ञान लिएर जाँच सुरु गरेको थियो।
प्रहरीले पीडितलाई सुरक्षित बनाएर अनुसन्धान अघि बढाएपछि घटनाको सम्पूर्ण श्रंखला सतहमा आएको हो। पीडितले उजुरी दर्ता गरिसकेकी छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…