न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब क्याम्पसका प्रमुख बसन्त कुमार कर्णले क्याम्पसको अनियमितता रोक्न खोजेपछि चौतर्फी घेराबन्दी गरेको प्रष्टयाएका छन् ।
कलेजमा भईरहेको नामांकनको अनियमितता, परीक्षाको अनियमिततासहित परीक्षार्थीहरुको वार्षिक शुल्क हिनामिना गर्ने प्रवृतिलाई रोक्न खोजेपछि केही कर्मचारी र विद्यार्थी संगठनहरुले नै षडयन्त्र गरी घेराबन्दी गरेको बताएका छन् ।
कलेज सुधारको लागि कलेजमा भुक्तानी प्रक्रिया मात्र अनलाईन गरेपछि आफू चौतर्फी घेराबन्दीमा परेको उनले आरोप लगाए । न्यूज ब्यूरोसँगको कुराकानीमा प्रमुख कर्णले सोही कारण पनि एक कर्मचारीले आफूमाथि जातीय छुवाछुतको मिथ्या आरोप लगाएर चरित्र हत्या गर्न खोजेको दाबी गरे ।
क्याम्पस प्रमुख कर्णले भने,–“ममाथि आरोप लगाएका हाम्रै कर्मचारी रास बिहारी खत्वेले यतिको दिनदेखि कुनै छुवाछुत लागेन, अनि यतिको दिनपछि मैले छुवाछुत कसरी गरिदिएँ ? यो षडयन्त्र मात्रै हो, उहाँको ईच्छा अनुसार गलत कार्य नगरिदिएपछि रिसाएर फँसाउने एक मात्र उपाय लगाएको हो । तर, यसले मलाई केही फरक पर्दैन, रासबिहारी जीको मनले पनि पछुतो गर्नेछ ।”
प्रमुख कर्णले आफू क्याम्पस प्रमुख भएपछि आफ्नो मातहतमा काम गर्नुको साटो रासविहारीले विगतको अवधारणा लादेर अनियमितता गर्न दबाब दिएपछि आफू सहमत नहुँदा यस्तो आरोप लगाएको दाबी गरे । उनले जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन हालेपनि निवेदन दर्ता नभएको सुनाए ।
निवेदनमा उल्लेख गरिएको शब्दहरु नै बनाबटी र पूर्ण रुपमा मिथ्यापन देखिएपछि प्रहरीले उजुरी दर्ता नगरेको उनले बताए । रासबिहारी राराब कलेजमा चापाकल ठिक गर्ने मिस्त्री हुन, उनी कार्यालय सहयोगीइ पदमा कार्यरत छन् र विगतदे्खि नै चियापानी उनले नै खुवाउँदै आएका छन् । कर्ण आएको महिनौँपछि उनले यस्तो आरोप लगाएपछि अपत्यारिलो भएको एक प्रोफेसरले बताए ।
आफूसँगै पढेर शिक्षक प्रोफेसर भएका एक जनाले आफूसँग डाहा गरी अनेकानेक हतकण्डा अपनाएको आरोप लगाए । उनले राजनीतिक दलको आडमा नियुक्ति पाएका केही भनाउँदा शिक्षक, प्रोफेसरहरुलाई नियमित कक्षा गर्न भनेपछि आफूलाई लक्षित गरेको बताए ।
केही शिक्षकहरुले कलेजमा आएर फेसबुक मात्र चलाउने, कक्षा नलिने प्रवृतिलाई सुधार गर्न खोज्दा पनि आफू घेराबन्दीमा परेको प्रमुख कर्णले बताए । थ्योरी र प्राक्टीकल कक्षा नगएर आफ्नो कक्षा समयमा मात्र फेसबुकमै व्यस्त हुने शिक्षकहरुलाई कक्षाको लागि निर्देशन दिएपछि विगत केही दिनदेखि आफूलाई लक्षित गरेको गुनासो पोखे ।
क्याम्पसकी उपप्रमुख विनिता ठाकुरले रासबिहारीसँग कुनै प्रकारको छुवाछुतको घटना नभएको सुनाइन् । उनले क्याम्पस प्रमुख कर्णको व्यवहारको प्रशँसा गर्दै परीक्षामा कडाई, सुधार ल्याउन खोजेपछि केही विद्यार्थी संगठनहरुलाई उक्साईएको आरोप लगाईन् । उनले कलेजमै अनियमिमता गरी खाने कर्मचारी र विद्यार्थी नेताहरुको कमाई मरेपछि यस्तो गतिविधि गर्न थालेको आरोप लगाईन् ।
प्रमुख कर्णले आफूमाथि लगाईएको जातीय छुवाछुतको आरोप मिथ्या र भ्रामक मात्र रहेको भन्दै खण्डन गरे । उनले आफ्नो चरित्र हत्या गराउन खोज्नेलाई पनि कानुनी दायरामा ल्याउने चेतावनी दिए ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…