मधेस प्रदेश स्तरीय किशोर–किशोरी भेला सम्पन्न
दुई दिनसम्म चलेको भेलामा साइबर सुरक्षाबारे चेतना, यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह र बालश्रम अन्त्यका उपायबारे छलफल भएको थियो। साथै, मधेस प्रदेशका आठ जिल्लाका समस्या–चुनौतीहरूको प्रदर्शनसमेत गरिएको थियो।

२०८२ भदौ २० शुक्रबार, बिहान ६:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेश स्तरीय किशोर–किशोरी भेला २०८२ बिहीबार बर्दिबासस्थित रेड क्राउन होटलमा सम्पन्न भएको छ। भेला राष्ट्रिय किशोर सञ्जाल र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा भएको हो। कार्यक्रमको संयोजन सिविन नेपाल र Girls Not Brides संस्थाले गरेका थिए भने सेभ द चिल्ड्रेन ले सहयोग प्रदान गरेको थियो।
कार्यक्रम राष्ट्रिय किशोरी सञ्जालकी महासचिव कृतिका धितालको अध्यक्षता र मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधान, NIRN Nepal का अध्यक्ष भिक्षु पियादशी, Girls Not Brides Nepal की अध्यक्ष निरजिना भट्ट, राष्ट्रिय किशोर सञ्जालका केन्द्रीय सदस्य रुपेश दासलगायतका सरोकारवालाहरूको उपस्थिति थियो।
मन्त्री जयसवालले आफ्नो मन्तव्यमा मधेस प्रदेशमा विद्यमान असमानता, विकृति, जातीय विभेद, बालविवाह तथा छिट्टै हुने विवाह जस्ता समस्या समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँगै नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। उनले मधेस प्रदेशले पहिलोपटक बालिका संरक्षण ऐन, नीति तथा बालिका कोष सञ्चालन गरी बालिका सशक्तिकरणलाई प्राथमिकता दिएको जानकारीसमेत दिए। साथै, यस वर्षको बजेटमा पर्याप्त स्रोत विनियोजन गरिएको र दहेज प्रथा, बालविवाह तथा छिट्टै हुने विवाह न्यूनीकरणका लागि सामूहिक विवाह कार्यक्रमसमेत नीतिगत रूपमा समावेश गरिएको उनले बताए।
दुई दिनसम्म चलेको भेलामा साइबर सुरक्षाबारे चेतना, यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह र बालश्रम अन्त्यका उपायबारे छलफल भएको थियो। साथै, मधेस प्रदेशका आठ जिल्लाका समस्या–चुनौतीहरूको प्रदर्शनसमेत गरिएको थियो।
भेलामा सहभागी किशोर–किशोरीहरूले तयार पारेको १२ बुँदे अपिल पत्र मन्त्री जयसवाललाई हस्तान्तरण गरेका थिए। मधेश प्रदेशको आठ जिल्लाका ५० जना किशोर–किशोरीको सहभागिता रहेको आयोजकले जनाएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…