मन्त्रालयमा कर्मचारीको सुदृढिकरण हुँदैछ, योग्य यथावत रहने, अयोग्य हटाइनेछः मन्त्री कुशवाहा
प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर पनि पदस्थापन हुन नपाएका कर्मचारीहरुलाई करार कर्मचारीको ठाउँमा पदस्थापन गरिने योजना रहेको मन्त्री कुशवाहाको भनाई छ । उनले सुदृढिकरणको क्रममा करारमा भर्ना भएका कर्मचारीहरुलाई मूल्याँकन फाराम मार्फत कार्य मूल्याँकन गरिने बताए ।

२०८२ भदौ १३ शुक्रबार, बिहान ९:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई. बसन्त कुशवाहाले मन्त्रालयमा विगतदेखि नै कार्यरत रहेका कर्मचारीहरुलाई सुदृढिकरण गर्न लागिएको बताएका छन् ।
उनले करार सेवामा कार्यरत कर्मचारीहरुको योग्यता चेकजाँच गरी योग्य ठहरिनेलाई यथावत राखिने जनाएका छन् । मन्त्री कुशवाहाले करार सेवामा कार्यरत कर्मचारीहरुको योग्यता चेकजाँचपछि अयोग्य ठहरिने त्यस्ता कर्मचारीलाई हटाउने निर्णय गरिएको जानकारी दिए ।
प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका कर्मचारीहरुलाई सो ठाउँमा पदस्थापना गरिने मन्त्री कुशवाहाले बताए । उनले भने,–“विगतदेखि नै करार सेवामा यहाँ कर्मचारीहरु कार्यरत छन्, तर उहाँहरुको योग्यता कहिले चेकजाँच भएको छैन, मन्त्रालयको काम कारवाही सुदृढ बनाउनको लागि यो निर्णय गरिएको छ । करारमध्येमै योग्य ठहरिनेलाई काममा यथावत राखिनेछ ।”
प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर पनि पदस्थापन हुन नपाएका कर्मचारीहरुलाई करार कर्मचारीको ठाउँमा पदस्थापन गरिने योजना रहेको मन्त्री कुशवाहाको भनाई छ । उनले सुदृढिकरणको क्रममा करारमा भर्ना भएका कर्मचारीहरुलाई मूल्याँकन फाराम मार्फत कार्य मूल्याँकन गरिने बताए ।
मन्त्री कुशवाहाका अनुसार, करार सेवामा भर्ना भई नियमित नआउने, मन्त्रालयलाई अटेरी गर्ने, मूल्याँकनमा पास नहुने कर्मचारीलाई मन्त्रालयबाट हटाएर अन्य ठाउँमा पदस्थापन गर्ने कार्य गरिने छ ।
उनले भने, –“प्रदेश लोकसेवाबाट आएका नायब सुब्बा, शाखा अधिकृत, प्रशासन तर्फका कर्मचारीहरु धेरै आउनुभएको छ । यहाँ करार सेवामा आवश्यकता नै नभएको ठाउँमा उहाँहरुलाई पदस्थापन गरिनेछ । कर्मचारी आवश्कता नभएको रिक्त ठाउँबाट लोकसेवाका कर्मचारीलाई राखिने मन्त्रालयको योजना छ ।”
करार सेवामा कार्यरत कर्मचारीहरुलाई मूल्याँकनको हिसाबले कार्य दक्षता हेरी विभिन्न स्थानमा कामकाजमा खटाइने समेत उनले थपे । “मन्त्रालय अन्तर्गत रहेका विभिन्न उद्योगहरुमा करार कर्मचारीहरुको कार्य दक्षताको आधारमा पोष्टिँग गरिनेछ । सबैलाई हटाउनै लागेको भन्ने कुरा भ्रामक मात्र रहेको छ । करारका कर्मचारीहरुलाई पनि दक्षताको आधारमा व्यवस्थापन गर्नेछौँ, मन्त्रालयमा नरहेपनि मातहतका कार्यालयहरुमा उहाँहरुलाई स्थान दिइनेछ ।”
तर, मूल्याँकनमा अयोग्य नै ठहरिने त्यस्ता कर्मचारीलाई राख्नैपर्ने बाध्यता भने नराख्ने मन्त्री कुशवाहाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…