शिक्षकलाई कुटपिट गरेका वडाध्यक्ष कुशवाहालाई प्रहरी गरे पक्राउ, पार्टीको पदबाट निलम्बन
जिल्ला समिती बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले विभिन्न पाँच कारण देखाउँदै कुशवाहालाई पार्टी सदस्यता खारेज गर्न माग गरेका थिए । श्रेष्ठले पत्रसहित शिक्षक यादवलाई कुटपिट गरेको भिडियो समेत प्रदेश कमिटीलाई उपलब्ध गराएका थिए ।

२०८२ भदौ ११ बुधबार, बिहान ७:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । शिक्षकलाई कार्यालयमा बोलाएर कुटपिट गर्ने एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा माओवादी केन्द्रले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ ।
एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको घटनामा संलग्न रहेको भन्दै माओवादीले कुशवाहालाई निलम्बन गरेको हो ।
कुशवाहा माओवादीको पूर्व जिल्ला सदस्य हुन् भने माओवादी केन्द्रबाट २०७९ सालमा निर्वाचित वडाध्यक्ष हुन् । कुशवाहासहित आठ जनाले पर्सा बहुदरमाई घर भई प्रसौनी ६ बेलहीया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेको आरोप छ । मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियो समेत माओवादीले फेला पारेको छ ।

अराजक गतिविधि र पार्टी अनुशासन उलंघन गरेको भन्दै माओवादी केन्द्रका मधेस इन्चार्ज मातृका यादवले कुशवाहालाई निलम्बन गरेका हुन् । कुशवाहाको पार्टी सदस्यता खारेज गर्न र जिम्मेवारीबाट हटाउन माओवादीको प्रसौनी गाउँ समितिले भदौ ५ गते र बारा जिल्ला समन्वय समितीले भदौ ७ गते प्रदेश समितिलाई पत्र लेखेको थियो ।
जिल्ला समिती बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले विभिन्न पाँच कारण देखाउँदै कुशवाहालाई पार्टी सदस्यता खारेज गर्न माग गरेका थिए । श्रेष्ठले पत्रसहित शिक्षक यादवलाई कुटपिट गरेको भिडियो समेत प्रदेश कमिटीलाई उपलब्ध गराएका थिए ।
कुशवाहाको सदस्यता खारेज गर्न र सम्पूर्ण जिम्मेवारीबाट हटाउन पत्राचार गरेपनि प्रदेश कमिटीले भने ६ महिनाका लागि मात्रै पार्टी सदस्यबाट निलम्बन गरेको हो ।
यता पीडित शिक्षक यादवले दिएको जाहेरीका आधारमा बारा प्रहरीले वडाध्यक्ष कुशवाहालाई भदौ २ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले कुशवाहालाई अमानवीय व्यवहारको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिए । कुशवाहा अहिले बारा प्रहरीको हिरासतमा छन् ।
कुशवाहा यसअघि पनि चेक अनादर, कुटपिटसहित विभिन्न मुद्दामा संलग्न थिए । बारा जिल्ला अदालतको फैसला आदेश कार्यान्वयन गराउने क्रममा प्रहरीले जेठ ११ गते कुशवाहालाई पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…