राम मन्दिरपछि भारत बिहारको सितामढीमा १४ अर्ब बढीको लगानीमा जानकी मन्दिर बन्दै
भारत सरकारले रामायणसंग सम्बन्धित स्थलहरूको एकीकृत संरक्षण तथा विकास योजनालाई तीव्रता दिइरहेको छ। राम मन्दिरपछि सीताको जन्म, जीवनपद्धति र योगदानसँग जोडिएका स्थलहरूमा सरकारी लगानी बढ्नुले सम्पूर्ण मिथिला क्षेत्रको सांस्कृतिक र आर्थिक भविष्यलाई समेत उज्यालो बनाउने संकेत देखिएको छ।

२०८२ साउन ११ आइतबार, बिहान ७:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, ११ साउन । राम मन्दिर निर्माणपछि भारतको केन्द्र तथा बिहार प्रदेश सरकार अब सीता माताको जीवनसंग जोडिएका ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमा सक्रिय देखिएका छन्।
उत्तर प्रदेशको अयोध्यास्थित भव्य राम मन्दिरपछि अब बिहारको सीतामढीस्थित पुनौराधाम र मधुवनी जिल्लाको गिरिजास्थानलाई धार्मिक–पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने ठोस योजना सार्वजनिक भएको छ।
बिहार प्रदेश सरकारले शनिबार घोषणा गरेको योजनाअनुसार पुनौराधाम र गिरिजास्थानको समग्र विकासका लागि ३१ करोड भारतीय रुपैयाँ (झण्डै ५० करोड नेपाली रुपैयाँ) बजेट विनियोजन गरिएको छ। विशेषगरी गिरिजास्थान, जहाँ राम–सीताको पहिलो भेंट भएको रामायणमा वर्णन पाइन्छ, त्यसको ऐतिहासिक महत्त्वलाई समेट्दै पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ।
मुख्यमन्त्री नितीश कुमारले सार्वजनिक रूपमै योजनाको घोषणा गर्दै भने, “बिहारमा रहेका धार्मिक धरोहरले राज्यको सांस्कृतिक पहिचानलाई बलियो बनाउने छन्। सीताको मार्गचित्र अब विश्व धार्मिक पर्यटनको केन्द्र बन्नेछ।”
यसैक्रममा भारत सरकारको गृहमन्त्री अमित शाहले आगामी ८ अगस्त मा पुनौराधामको एकदिवसीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उनी माता जानकीको भव्य मन्दिरको शिलान्यास समेत गर्नेछन्। केन्द्र सरकारले यस मन्दिर तथा सम्पूर्ण पुनौराधाम क्षेत्रको विकासका लागि ८ अर्ब ८० करोड भारतीय रुपैयाँ (करिब १४ अर्ब ८ करोड नेपाली रुपैयाँ) को बजेट छुट्याएको आधिकारिक जानकारी प्राप्त भएको छ।
यो पहलले भारतको मिथिला क्षेत्रलाई धार्मिक पर्यटनको हबमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ। जानकारहरूका अनुसार, पुनौराधाम, जहाँ सीता माता जन्मिएकी थिइन्, र गिरिजास्थान, जहाँ उनको रामसँग पहिलो भेट भयो, यी दुवै स्थल मिथिला संस्कृतिको जडसंग प्रत्यक्ष जोडिएका छन्।
धार्मिक विश्लेषकहरूको भनाइमा, “अयोध्यामा राम मन्दिर निर्माणले जस्तो विश्वव्यापी चासो र आकर्षण सिर्जना गर्यो, अब त्यसको परिपूरकको रूपमा मिथिलाको यी स्थलहरूलाई पनि अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यको रूपमा स्थापित गर्ने समय आएको छ।”
भारत सरकारले रामायणसंग सम्बन्धित स्थलहरूको एकीकृत संरक्षण तथा विकास योजनालाई तीव्रता दिइरहेको छ। राम मन्दिरपछि सीताको जन्म, जीवनपद्धति र योगदानसँग जोडिएका स्थलहरूमा सरकारी लगानी बढ्नुले सम्पूर्ण मिथिला क्षेत्रको सांस्कृतिक र आर्थिक भविष्यलाई समेत उज्यालो बनाउने संकेत देखिएको छ।
सीतामढीमा भव्य जानकी मन्दिर बनेपछि जनकपुरधामको पर्यटकीय व्यापार लगभग चौपट्ट हुने अवस्था सृजना हुन सक्ने सँकेत देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…