जनकपुरमा महासेठ दम्पपति नीधिप्रति आक्रोशित, विकास विरोधी मानसिकताको आरोप
महासेठले धनुषा जिल्लाको प्रहरी प्रशासनमाथि समेत असन्तुष्टि जनाउँदै भने –“प्रहरीले आफ्नो पदीय दायित्वलाई गम्भीरतापूर्वक निर्वाह गर्न सकेको छैन। एकपक्षीय, प्रभावमा परेको र निष्पक्षता गुमाएको शैलीले प्रशासनमाथि जनविश्वास घट्दो छ।”

२०८२ असार २३ सोमबार, बिहान ७:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवनलाई लिएर राजनीतिक तापक्रम चुलिँदै जाँदा नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ र धनुषा–३ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री जुलि महतोले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि तीव्र प्रहार गरेका छन्।
पूर्व उपप्रधानमन्त्री महासेठले नेता निधिलाई विकास विरोधी मानसिकता बोकेको व्यक्ति भन्दै आरोप लगाउँदै भने, पटक(पटक जनकपुरधाममा भइरहेका विकास निर्माणका कार्यहरूमा अनावश्यक हस्तक्षेप गर्ने नेता निधिले आज फेरि विश्वविद्यालयको भवनलाई लिएर झूठो प्रचार गरेका छन्।
नेता महासेठले स्पष्ट रूपमा भने, “राजर्षि जनक विश्वविद्यालय कुनै व्यक्तिको निजी सम्पत्ति होइन, यो सम्पूर्ण जनकपुरबासी र मिथिलावासीको साझा सम्पत्ति हो। यसमा राजनीति होइन, समर्पण चाहिन्छ।
महासेठले गंगासागर डिलमा निर्माणाधीन स्व. रामनारायण मिश्रको स्मृति भवन र शहीद दुर्गानन्द झाको स्मारक परियोजनामा पनि नेता निधिले अवरोध गरेको आरोप लगाए। उनले भने, रामनारायण मिश्र जुन पार्टीका भएपनि देश र जनकपुरधामका लागि उहाँको योगदान अमूल्य छ। तर निधिले बारम्बार यस्ता ऐतिहासिक स्मारक योजनाहरूमा असहयोग गर्दै आएका छन्। उहाँको सोच विकास विरोधी र आत्मकेन्द्रित छ।
महासेठले धनुषा जिल्लाको प्रहरी प्रशासनमाथि समेत असन्तुष्टि जनाउँदै भने –“प्रहरीले आफ्नो पदीय दायित्वलाई गम्भीरतापूर्वक निर्वाह गर्न सकेको छैन। एकपक्षीय, प्रभावमा परेको र निष्पक्षता गुमाएको शैलीले प्रशासनमाथि जनविश्वास घट्दो छ।”
एमाले नेतृ तथा सांसद जुलि महतोले कांग्रेस नेता निधिलाई लक्षित गर्दै भनिन्, –“राजनीति सेवा हो, पेशा होइन। अब झूट बोलेर, चरित्र हत्या गरेर जनताको मन जित्ने दिन गइसकेको छ। अहिले जनता सचेत छन्, मिडिया, सामाजिक सञ्जाल सबैको पहुँचमा छ झुट अब लुकेको रहँदैन।”
महतोले थप भनिन्, –“पहिलेजस्तो अब जालझेल गर्न सजिलो छैन। जसलाई महिला सम्मान गर्ने शिष्टाचार छैन, उनीहरू समाजको नेतृत्व गर्न अयोग्य छन्। महिला नेतृलाई हेप्ने, अपमान गर्ने र गलत ढंगले प्रस्तुत गर्ने सोचको अन्त्य हुनुपर्छ।”
महासेठले निधिको नेतृत्वशैलीप्रति संकेत गर्दै भने –“उहाँ आफ्नै परिवारभन्दा ठूलो योगदान कसैले देओस् भन्ने चाहनुहुन्न। यसैले रामनारायण मिश्र, दुर्गानन्द झा जस्ता राष्ट्रिय व्यक्तित्वको योगदानलाई सधैं अवहेलना गर्दै आउनु भएको छ। उहाँको सोच व्यक्तिवादी र राजनीतिक स्वार्थमा आधारित छ।”
नेता निधिले दिएको अभिव्यक्ति व्यक्तिगत सोच हो। विश्वविद्यालयको स्थान फुलगामाको मनियारी होस् वा अन्यत्र, तर यसको निर्माण रोक्नु हुँदैन। यो सम्पूर्ण मिथिलाको सपना हो।
स्थानीय नागरिक समाज र विश्लेषकहरूले महासेठ र महतोको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिँदै भनेका छन् । अब जनता विकास विरोधी सोच र झुटका राजनीतिक शैलीबाट दिक्क भइसकेका छन्। अहिले चाहिएको हो– “पारदर्शिता, समर्पण र सम्मान।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…