धनुषाको कमला नगरपालिकामा बिपद् आपतकालिन कार्य सञ्चालन केन्द्र आजदेखि सञ्चालनमा
नव सञ्चालनमा आएको बिपद् आपतकालिन कार्य सञ्चालन केन्द्रले कमला नगरपालिकाभित्र देखा पर्न सक्ने विभिन्न प्रकारका प्राकृतिक र मानवनिर्मित विपद्का अवस्था व्यवस्थापन गर्न आवश्यक पूर्वतयारी, तदारुकता तथा प्रतिक्रिया प्रणालीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

२०८२ असार १३ शुक्रबार, राति ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिकामा आजदेखि बिपद् आपतकालिन कार्य सञ्चालन केन्द्र (Emergency Operation Center) औपचारिक रूपमा सञ्चालनमा आएको छ। केन्द्रको उद्घाटन नगर प्रमुख विशेश्वर यादवले एक विशेष समारोहबीच गर्नुभयो।
उक्त उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्र, विपद् व्यवस्थापन तथा योजना शाखा प्रमुख बीरेन्द्र कुमार सढान, कमला युवा सञ्जालका अध्यक्ष विमलेश यादव, साथै विभिन्न वडाका वडाध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख यादवले अब आपतकालीन विपद् व्यवस्थापन कार्यहरू थप प्रभावकारी र समन्वययुक्त हुने विश्वास व्यक्त गर्नुभयो। “यस केन्द्रमार्फत बाढी, आगलागी, भूकम्प, रोग प्रकोपजस्ता आपतकालीन अवस्थाहरूमा छिटो सूचना आदानप्रदान, उद्धार तथा राहत समन्वयमा सजिलो हुनेछ,” उहाँले भन्नुभयो।

कार्यक्रममा प्रशासकीय अधिकृत मिश्रले विपद् जोखिम न्यूनीकरण तथा तयारीलाई प्राथमिकतामा राखी केन्द्रको निरन्तर सुदृढीकरण गरिने प्रतिबद्धता जनाउनुभयो। शाखा प्रमुख सढानले विपद् सम्बन्धी डेटा व्यवस्थापन, जनचेतना कार्यक्रम तथा पूर्वतयारी योजनाहरूमा केन्द्रले प्रभावकारी भूमिका खेल्ने बताए।
विपद् व्यवस्थापन शाखा प्रमुख सढानले युवाहरूलाई विपद् व्यवस्थापनमा सक्रिय बनाउने र तालिममार्फत जनशक्ति तयार पार्न केन्द्रसँग सहकार्य गरिने जानकारी दिनुभयो।
नव सञ्चालनमा आएको बिपद् आपतकालिन कार्य सञ्चालन केन्द्रले कमला नगरपालिकाभित्र देखा पर्न सक्ने विभिन्न प्रकारका प्राकृतिक र मानवनिर्मित विपद्का अवस्था व्यवस्थापन गर्न आवश्यक पूर्वतयारी, तदारुकता तथा प्रतिक्रिया प्रणालीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…