बलात्कार आरोपीसँग बर्थडे पार्टी, सप्तरीका डीएसपी बस्नेत पनि कारबाहीको घेरामा
घटनापछि प्रहरी संगठनमाथि नैतिकताको गम्भीर प्रश्न उठेको छ। मधेश प्रदेश प्रहरी कार्यालयले घटनाको गम्भीरता बुझ्दै प्रहरी उपरीक्षक नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। छानबिन टोली बिहीबारदेखि सप्तरी पुगेर विस्तृत अनुसन्धान प्रारम्भ गर्ने बताइएको छ।

२०८२ असार १२ बिहीबार, बिहान ८:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । बलात्कारको जस्तो जघन्य अभियोगमा सफाइ पाएको भोलिपल्टै आरोपीसँग प्रहरी अधिकृतहरूको भोजमा सहभागिता देखिएपछि सप्तरी जिल्लाको प्रहरी नेतृत्व पुनः विवादमा तानिएको छ।
एसपी डकेन्द्र खतिवाडा गाँजा तस्करसँगको मिलोमतो प्रकरणमा प्रहरी प्रधान कार्यालयले कारबाही गरेपछि निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी जितेन्द्र कुमार बस्नेत समेत अनुशासनको कठघरामा तानिएका छन्।
प्राप्त विवरणअनुसार जेठ ५ गते राति, सप्तरी जिल्ला प्रहरी परिसर अन्तर्गत डीएसपी बस्नेतको सरकारी निवासमा प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मोत्सवका अवसरमा भोज आयोजना गरिएको थियो। उक्त भोजमा बलात्कारको मुद्दाबाट अदालतबाट सफाइ पाएका राजविराज–६ का आकाश आदर्श समेत सहभागी भएको पुष्टि भएको छ। उक्त घटनाको फोटो तथा भिडियो सामग्री असार १० गते सार्वजनिक भएपछि विषयले राष्ट्रिय ध्यान तान्न थालेको हो।
आकाश आदर्शमाथि २०८१ कात्तिक २० गते सरकारी वकिलको जाहेरीका आधारमा जबर्जस्ती करणीको मुद्दा सप्तरी जिल्ला अदालतमा दर्ता गरिएको थियो। अदालतले जेठ ४ गते उनलाई सफाइ दिए पनि, मुद्दाको अनुसन्धान अधिकृत स्वयम् इन्सपेक्टर श्रेष्ठ रहेको र उनीसहित डीएसपी बस्नेतसँग आरोपीले भोजमा ‘सेलेब्रेसन’ गरेको भिडियो सार्वजनिक भएको छ।
घटनापछि प्रहरी संगठनमाथि नैतिकताको गम्भीर प्रश्न उठेको छ। मधेश प्रदेश प्रहरी कार्यालयले घटनाको गम्भीरता बुझ्दै प्रहरी उपरीक्षक नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। छानबिन टोली बिहीबारदेखि सप्तरी पुगेर विस्तृत अनुसन्धान प्रारम्भ गर्ने बताइएको छ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, “घटना प्रहरी आचरण विपरीत देखिएकोले समितिलाई छानबिनको जिम्मेवारी दिइएको हो। कुनै पनि मुद्दाको पक्षसँग निकटता देखाउनु प्रहरी धर्म र निष्पक्षताको उल्लंघन हो। यदि कमजोरी देखियो भने कारबाही सिफारिस गरिनेछ।”
यसै सन्दर्भमा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले पनि विषयलाई ‘नोटिसमा लिएको’ बताएका छन्। बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदै आईजीपी थापाले भने, “मधेश प्रदेशका डिआइजीलाई छानबिनको जिम्मा दिइएको छ, प्रहरी प्रधान कार्यालय आफैंले पनि प्रक्रिया अघि बढाइरहेको छ।”
घटनाले प्रहरी अनुसन्धानप्रति विश्वासमा गम्भीर असर पुर्याएको भन्दै नागरिक समाज तथा कानुनी क्षेत्रले प्रहरीको भित्री सञ्जालमा 'सेटिङ', आर्थिक लेनदेन र मिलोमतोको शंका बढाएको बताएका छन्। अनुसन्धानकै आधारमा मुद्दा दर्ता हुने तर अनुसन्धान अधिकृत र प्रहरी प्रमुख स्वयं आरोपीसँग भोजमा देखिनु नै न्याय प्रणालीमाथिको गम्भीर हमला भएको विश्लेषण भइरहेको छ।
प्रहरी स्रोतका अनुसार यसअघि पनि सप्तरीमा कार्यरत केही एसपी र डीएसपीहरू माथि आर्थिक लेनदेन, मुद्दा मिलाउने, तस्करहरूसँग साँठगाँठजस्ता गम्भीर आरोप लागेका थिए। तर, यो घटना अझ गम्भीर भएको जनाइएको छ, किनभने यसमा बलात्कार जस्तो संवेदनशील विषय समावेश भएको छ।
अब छानबिन समितिको प्रतिवेदनपछि डीएसपी बस्नेतसहित संलग्न प्रहरी अधिकारीहरूलाई विभागीय कारबाही हुने पक्का छ। यो घटनाले प्रहरी संगठनभित्रको अनुशासन, आचरण र जनविश्वास निर्माणका चुनौतीहरूलाई पुनः सतहमा ल्याएको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…