लहानमा फरार डाँका तथा संगठित अपराधका प्रतिवादी श्रीदेव महतो पक्राउ
प्रहरीका अनुसार, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी छ। संगठित रूपमा योजना बनाएर गरिएको डाँका र हिंसात्मक कार्यलाई गम्भीर रूपमा लिई अनुसन्धान तिव्र पारिएको जनाइएको छ।

२०८२ असार १ आइतबार, राति १०:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिल्लाको बहुचर्चित डाँका, शरीर बन्धक र संगठित अपराधमा संलग्न रहँदै फरार रहेका प्रतिवादी श्रीदेव महतोलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ। पक्राउ परेका महतो सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. २० निवासी बिटोरी महतोका छोरा हुन्, जसको उमेर अन्दाजी ४५ वर्ष रहेको छ।
प्राप्त जानकारीअनुसार, इलाका प्रहरी कार्यालय लहानबाट फरार अभियुक्तको खोजी कार्य भइरहेका बेला जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाका आधारमा महतोको बसोबासबारे पत्ता लगाई उनलाई २०८२ साल जेठ ३१ गते साँझ ७:३० बजे बरियारपट्टी गाउँपालिका वडा नं. ३ स्थित चमार टोलबाट नियन्त्रणमा लिएको हो।
स्मरणीय रहोस्, २०७९ साल फागुन १४ गते राति १२:१५ बजे सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ११ मा अवस्थित गोर्खाज फाइनान्स लिमिटेड मा नाकाबन्धी, पेस्तोल र धारिलो हातहतियारसहित आएको अपरिचित समूहले फाइनान्स कार्यालयमा डाँका गरेको थियो। सो समूहले तल्लो तल्लामा बस्ने कर्मचारीहरूलाई हतियार देखाई ज्यान मार्ने धम्की दिँदै कुटपिट गरेको, नशालु इन्जेक्सन लगाएर बन्धक बनाएको र त्यसपछि माथिल्लो तल्लामा रहेको कार्यालयमा तोडफोड गरी झ्याल, ग्रिल फुटाएर नगद रु. २,५७,२७९।– चोरी गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, कार्यालयमा कार्यरत कर्मचारीहरूको मोबाइल सेटहरू – POCO X3 Pro, Realme र Samsung Galaxy J2 गरी तीनवटा मोबाइल समेत लुटिएको थियो। घटनामा फाइनान्सको अन्य जिन्सी सामानमा तोडफोड गरी जम्मा रु. १०,२८,७१४।– बराबरको सम्पत्ति क्षति भएको विवरण प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
डाँका तथा संगठित अपराध मुद्दामा संलग्न रहँदै लामो समयदेखि फरार रहेका श्रीदेव महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि सिरहा जिल्ला अदालतमा पेश गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी छ। संगठित रूपमा योजना बनाएर गरिएको डाँका र हिंसात्मक कार्यलाई गम्भीर रूपमा लिई अनुसन्धान तिव्र पारिएको जनाइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…