मधेश सरकारले पनि देखेनन् कमला पूलको हविगत, 'मौत' को सिढीमा यात्रा !

२०८२ जेठ २७ सोमबार
बेलुकी ७:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने जनजीवनसँग जोडिएको कमला नदीको पुल भत्किएको आज चार वर्ष बितिसकेको छ। तर अझैसम्म त्यसको पुनर्निर्माणको काम सुरु हुन सकेको छैन। अब त यो पुल सवारीको लागि हैन, सिधै मृत्युको निम्ति निम्तो जस्तै बनिसकेको छ। यसै पुलबाट दैनिक सयौं नागरिक जोखिम मोल्दै यात्रा गरिरहेका छन्।

गत वि.सं. २०७८ सालमा आएको भीषण बाढीले धनुषा र सिरहा जोड्ने कमला पूल पूर्ण रुपमा क्षतिग्रस्त बनाएको थियो। त्यस यता चार बजेट पारित भइसके, दुईवटा प्रदेश सरकार फेरिए, तर कमला पूलको योजना फाइलमै सीमित छ।

पछिल्लो पटक मधेश सरकारले २०८२/८३ को लागि सार्वजनिक गरेको बजेटमा कमला पूलको नामसम्म छैन। यातायात र पूर्वाधारमा अर्बौंको बजेट विनियोजन भएको दाबी गरिएपनि, जनताका साससँग जोडिएको पुल कुन कुनामा गुम भयो, कसैलाई थाहा छैन।

पुराना मुख्यमन्त्रीकै पुराना बाचाः कता हराए ?
२०७९ सालमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री सरोजकुमार यादव ले भनेका थिए–“कमला नदीको पुल जनताको प्राथमिकता हो, यसलाई अगामी वर्षमा निर्माणको काम अघि बढाइनेछ।” त्यो अगामी वर्ष आज दुईवटा नयाँ वर्ष टपकाइसक्दा पनि आउन सकेका छैनन् । 

यसअघि पूर्व मुख्यमन्त्री लालबाबु राउत ले २०७९ सालकै नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेशको ‘फास्ट ट्र्याक इन्फ्रास्ट्रक्चर’ अन्तर्गत कमला पूलको काम सुरु गरिने घोषणा गरेका थिए। तर त्यो पनि घोषणामै सीमित भयो।

नयाँ मुख्यमन्त्री सतिश कुमार सिँहले समेत कुनै कार्यक्रममा कमला पुलको हविगत बारे दर्साउँदै केन्द्र सरकारले नगरे प्रदेश सरकारले नै कमला पूल बनाउने साँकेतिक भाषा प्रयोग गरेका थिए । मुख्यन्त्री मात्र नभई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले समेत जनचासो देखाएपनि बजेटमा अटाउन चाहेका छैनन् । 

यात्रा कि मृत्यु ?
भत्किएको पुलको अवशेष अझै उस्तै छ, त्यसैको छेउबाट डोरी, बाँस र खर टाँसेर बनाइएको अस्थायी “मार्ग” हुँदै जनता आउजाउ गर्छन्। २०७८ यता ३ जनाको ज्यान अस्थायी बाटोबाट खस्दा गइसकेको छ। यसलाई मौतको कुँवा पनि भनिएको छ । 

कमला पूलको बजेट किन छैन ?  मधेश सरकारको पुरानो बाचा के भयो ? जनताको साससँग खेल्ने लापरवाही कहिलेसम्म ? यी प्रश्नहरु समाजिक सँजालमा कडा रुपमा प्रस्तुत भईरहेको छ । 

मधेश सरकारको नीति र कार्यक्रममा जनताको जीवनभन्दा ठूला ‘विकास सपनाहरू’ प्राथमिकतामा देखिएका छन्। तर कमला नदीमाथिको यो भत्किएको पूल विकासको कङ्काल बनेर उभिएको छ— जसको छायाँमा जनताको सास अड्किएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

Bureau Menus