खुर्सानीको कालो थ्रिप्स: साना तर खतरनाक किरा
चिल्ली ब्ल्याक थ्रिप्स (CBT) वैज्ञानिक नाम: Thrips parvispinus (थ्रिप्स पार्विस्पिनस ) परिचय नेपालमा खुर्सानी एक महत्त्वपूर्ण मसला बालीको रूपमा व्यापक रूपमा खेती गरिन्छ। यस्तै बालीमा देखिने एउटा खतरनाक किरा हो-कालो थ्रिप्स। सानो आकारको यो कीटले बोटको पात, फूल, र फलमा आक्रमण गरी उत्पादनमा ठुलो हानि प

२०८२ बैशाख १७ बुधबार, बिहान ९:५० बजे४ मिनेट पढाइ

चिल्ली ब्ल्याक थ्रिप्स (CBT)
वैज्ञानिक नाम: Thrips parvispinus (थ्रिप्स पार्विस्पिनस)
परिचय
नेपालमा खुर्सानी एक महत्त्वपूर्ण मसला बालीको रूपमा व्यापक रूपमा खेती गरिन्छ। यस्तै बालीमा देखिने एउटा खतरनाक किरा हो-कालो थ्रिप्स। सानो आकारको यो कीटले बोटको पात, फूल, र फलमा आक्रमण गरी उत्पादनमा ठुलो हानि पुर्याउँछ। यसको संख्या न्यून भए तापनि असर अत्यन्त घातक हुन्छ। २०२१ साल आन्द्रा प्रदेशमा खुर्सानी बालीलाई नराम्ररी नोक्सान गर्ने नयाँ थ्रीप्स प्रजाति फेला परेको देखिन छ । त्यसपछि यो दक्षिण भारतका अन्य राज्यहरूमा विस्तार भएको देखिन छ। थ्रिप्स पार्विस्पिनस नेपालमा हालसालै देखिएको नव आगन्तुक कीरा (invasive pest) हो जसले कृषकहरूलाई गम्भीर चुनौती दिइरहेको छ। समयमै नियन्त्रण तथा सचेतना आवश्यक छ, नत्र यो कीराले अन्य बालीहरूमा समेत गम्भीर असर गर्न सक्छ।
नेपालमा पहिलो देखापरेको समय
नेपालमा यो कीरा पहिलो पटक २०८० सालको सुरुवाततिर (२०२३ AD) खुर्सानी तथा क्याप्सिकम बालीहरूमा देखा परेको देखिन छ। विशेष गरी भारतबाट आयात गरिने बिरुवाहरू तथा नर्सरीजन्य सामग्रीबाट यसको प्रवेश भएको विश्वास गरिन्छ।
तेज गतिमा फैलावट
यस कीराले एकैपटक ठूलो संख्यामा अण्डा दिने, छोटो जीवनचक्र तथा विभिन्न बोटबिरुवामा आक्रमण गर्न सक्ने क्षमताका कारण छोटो समयमा नेपालको धेरै क्षेत्रहरूमा फैलावट भयो – विशेष गरी बागमती प्रदेश, कोशी प्रदेश, मधेस प्रदेश, र लुम्बिनी प्रदेश मा उच्च असर परेको देखिन छ।
किरा लागने बाली (Host Plant)
कालो थ्रिप्स एक बहुभोजी कीरा (polyphagous pest) हो, यो मुख्य रूपमा खुर्सानीमा देखिन्छ तर कालो थ्रिप्सले यी बालीहरूमा पनि आक्रमण गर्छ:
क) फलफूल: सुन्तला, आँप, अंगुर, स्ट्रबेरी, र आडू।
ख) तरकारीहरू: टमाटर, लौका, बैगन, काक्रा, सिमी, र भिण्डी।
ग) क्षेत्रीय बालीहरू: कपास, मकै, सोयाबिन, र सूर्यमुखी।
घ) सजावटी बिरुवाहरू: गुलाब, चम्मेली, अर्चिड्स, र अन्य फूल्ने बिरुवाहरू।
ङ) अन्य बालीहरू: चिया, कफी, मसला, र औषधीय जडीबुटीहरू।



क्षति र चिन्ताजनक प्रभाव
कालो थ्रिप्सले निम्न प्रकारका लक्षणहरू देखाउँछ:
- पात मुजिने, सुक्ने वा चाउरी पर्ने
- पातमा चन्दी वा काँसे रंगको दाग देखिने
- कलिला फूलहरू झर्ने वा नफुल्ने
- फलमा डाम देखिने, बजार मूल्य घट्ने
यी लक्षणहरूले बोटको समग्र स्वास्थ्यमा नकारात्मक असर पार्छ र फलको गुणस्तरमा गिरावट ल्याउँछ। खुर्सानी र क्याप्सिकम बालीमा उत्पादनमा ५०% सम्म गिरावट रिपोर्ट गरिएको छ।

श्रोत र फैलिने वातावरण
कालो थ्रिप्सको मुख्य श्रोत झारपात र बालीको अवशेषहरू हुन्। अनुकूल वातावरणमा यी कीराहरू तीव्र रूपमा फैलन सक्छन्। फैलिने मुख्य कारणहरू यस्ता छन्:
- तातो र सुख्खा मौसम (गर्मी महिनामा बढी सक्रिय २५–३२°C)
- घना बाली प्रणाली, जसले हावा आवतजावतलाई रोक्छ
- हावा र संक्रमित बिरुवा मार्फत एक खेतबाट अर्को खेतमा सजिलै पुग्न सक्छ
- संक्रमित नर्सरी वा बिउ, खेतमा लगाउने क्रममा कीट फैलन सक्छ

जीवन चक्र:
-
अण्डा (३–५ दिन): कोमल पात र फूलमा राखिन्छ।
-
निम्फ (४–७ दिन): साना, पङ्खाविहीन; पात र फूल चुस्छ।
-
प्रेपुपा (१–२ दिन): माटो वा पातमा बस्छ, कम चलायमान।
-
पुपा (१–२ दिन): पङ्खा विकास हुन्छ।
-
वयस्क (२–३ हप्ता): कालो र पङ्खा भएको, खाना खाने र अण्डा दिने।
माउ थ्रिप्सले बाँचुन्जेल सालाखाला ३३ वटा अण्डा पार्छ ।
सम्पूर्ण चक्र:
तातो मौसममा १४–१८ दिनमा पूरा हुन्छ। चिसो मौसममा भने २० दिनभन्दा बढी लाग्न सक्छ। त्यसैले गर्मीमा थ्रिप्सको संख्या धेरै छिटो बढ्छ।
फोटो:- कालो थ्रिप्स स्टिक्की ट्र्यापमा टासेको व्यवस्थापन उपायहरू
सांस्कृतिक विधिहरू (Cultural Practices)
- संक्रमित पात, झारपात, र अवशेष हटाउने
- किरामुक्त बिरुवा मात्र प्रयोग गर्ने
- राम्रो हावा आवतजावत हुने गरी रोपाइँ गर्ने
जैविक नियन्त्रण (Biological Control)
- लेडी बग, लेसविंग, प्रेडेटर जस्ता प्राकृतिक सत्रुहरूलाई संरक्षण गर्ने
- ७ दिनको अन्तरालमा प्रति लिटर पानीमा ३ मिलिलिटर Beauveria bassiana, Verticillium lecanii, र नीम तेल मिश्रण गरी छर्कँदा कालो थ्रिप्सको प्रसारमा उल्लेखनीय कमी आउने देखिएको छ।
२५० ग्राम मेटाराइजियम एनिसोप्ली १२५ किलोग्राम गोबर वा कम्पोष्टमा मिसाई प्रति रोपनी खेतबारीमा प्रयोग गर्ने ।
यान्त्रिक नियन्त्रण (Mechanical Control)
- निलो वा पहेँलो स्टिक्की ट्र्याप प्रयोग गरेर किराको निगरानी गर्
रासायनिक नियन्त्रण (Chemical Control)
- प्लेसिवा (साइंट्रानिलिप्रोएल ७.३% + डायफेंटियूरोन ३६.४%), स्पिनोसाड ४५% SC, सिमोडिस (आइसोसाइकलोसेराम ९.२% w/w DC + आइसोसाइकलोसेराम १०% w/v DC), शिन्वा (फ्लक्सामेटामाइड १०% EC) जस्ता कीटनाशक (०.५–१ मिलि/लीटर पानी) प्रयोग गर्न सकिन्छ
- कीटनाशकको फेरबदल गर्दै प्रयोग गर्नुपर्छ ताकि प्रतिरोध विकास नहोस्
निष्कर्ष
कालो थ्रिप्स सानो देखिए पनि यसको असर गम्भीर हुन्छ। समयमै पहिचान, सन्तुलित व्यवस्थापन रणनीति, र किसान बीचको सहकार्य मार्फत यसलाई नियन्त्रण गर्न सकिन्छ। खुर्सानी खेतीलाई दिगो बनाउन यो विषयमा समयमै ध्यान दिनु जरुरी छ।
सन्दर्भ:
-
अन्तर्राष्ट्रिय कृषि संस्थान (ICAR)
-
कीट व्यवस्थापन गाइडलाइन
यो लेख कृषकहरूको जानकारीका लागि तयार गरिएको छ।
"थ्रिप्सको प्रकोप रोक्नुहोस्, खुर्सानीको उत्पादन बढाउनुहोस्!"

सम्पर्क:
साजन साह ( M.Sc. Ag)
ईमेल: sajan.sah2013@gmail.com/फोन नम्बर: 9843520780
कार्यरत:- एन.ए.सी रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर, धनुषा, जनकपुरधाम-२
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…