हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशीको कत्तारसँग सकुशल मुक्तिको प्रयास

२०८१ पौष २६ शुक्रबार
बेलुकी ६:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग पुनः आग्रह गरेको छ ।
 
सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न पुनःआग्रह गरेको हो ।  हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको समाचार सार्वजनिक भएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई जोशीको रिहाइका निम्ति पनि प्रयत्न गर्न आग्रह गरेको हो । 

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री देउवाले इजिप्ट सरकारसमक्ष नेपालको अनुरोध कार्यान्वयनका निम्ति राजदूतमार्फत आग्रह गरेकी हुन् । 

आजै परराष्ट्रमन्त्रीले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल कतारमा रहेका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिएको थियो ।   

यसअघि पनि परराष्ट्रमन्त्री देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग जोशीको रिहाइका निम्ति आग्रह गरेको 
 थियो । जोशीको रिहाइका लागि  सरकारले कूटनीतिक प्रयास जारी राखेको छ ।

  • 91%
  • 0%
  • 2%
  • 0%
  • 0%
  • 2%

Bureau Menus