अवैद्य पिता बनेका वीरगँजका मेयर सिँहलाई कारवाहीको माग गर्दै विरुद्ध सिटी जुलुस
जिल्ला प्रशासनमा नै नागरिकता सम्बन्धी सम्पूर्ण कागजात रहने गरेकाले १५ दिन बितिसक्दा पनि छानबिन समितिले प्रतिवेदन पेश गरेको छैन् । मेयरलाई जोगाउन प्रशासनले छानबिन थालेको आरोप लगाइरहेका स्थानीयले संघर्षलाई अझ चर्काउने संकेत दिएका छन् ।

२०८० माघ १५ सोमबार, बिहान १०:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । अवैध रुपमा पिता बनेर नागरिकता दिलाउने वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध आइतबार सिटी जुलुस प्रदर्शन गरिएको छ ।
सचेत नागरिक समाज वीरगञ्जले आयोजना गरेको सिटी जुलुस नगर परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । वीरगञ्जको घण्टाघरबाट सुरु भएको जुलुस नगर परिक्रमा गरी पुनः घन्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
मेयर सिंहको विरोधमा लेखिएको विभिन्न पम्पलेट बोकी निकालिएको सिटी जुलुसमा ‘सर्वसाधारण जनता किर्ते गर्ने मेयर अनैतिक ठेकेदारहरुको देवता’, ‘टेण्डर सेण्डर सेटिङ्ग,अर्काको छोरी गोजि भरी भेटी’ हाम्रो वीरगञ्ज राम्रो वीरगञ्ज, नक्कली बाबु किर्ते कागज, लगायतको नारा लेखिएको प्ले कार्डको जुलुसले सिटी फुक्दै वीरगञ्जको मुख्य बजारमा प्रदर्शन गरेको थियो । नागरिकता किर्ते गर्ने मेयरलाई कारबाहीको माग गर्न अपिल गरिएका विभिन्न पर्चा पम्पलेट बोकेर सहभागीहरु प्रर्दशनमा उत्रिएका थिए ।
सिटी जुलुसमा ‘प्रहरी मेरो साथी, किर्ते गर्ने मेयर कानुन भन्दा किन माथि’ जस्ता प्रश्न सोधिएका ब्यानरहरु प्रदर्शनकारीले बोकेर प्रहरी प्रशासनमाथि पनि प्रश्न तेस्र्याएका छन् । मधेश प्रदेशमा हाल ५ वटा नगरपालिकाका मेयर निलम्बनमा रहेका छन् ।
गत कार्यकालमा गैर नेपालीलाई नागरिकताको सिफारिस गर्ने वीरगञ्ज महानगरपालिकाका २ जना वडाध्यक्ष निलम्बनमा परेका थिए । तर मेयर सिंहलाई कारबाही गर्न प्रशासन ढिलाइ गरेको आरोप लागेको छ । प्रदर्शन पछिको कोण सभामा बोल्दै स्थानीय नेताहरुले मेयर सिंह नक्कली बाबु बनेर जारी गरिएको नागरिकता खारेजीसँगै मेयरलाई कारबाही गर्नुपर्ने सरकारसंग माग गरेका थिए ।
वीरगञ्जको घन्टाघरमा भएको कोणसभालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज राउत कुर्मी, जनमत पार्टीका नेता मकुश द्विवेदी, शशिकपुर मिया, पूर्व कृषिमन्त्री करिमा बेगम, एमालेका नेता अजय गुप्ता, लियाकत अलि, नेपाली कांग्रेसका अनिल सिंह, जमिला खातुन, मिन्टु सिंह, किरण सरकार, नेविसंघका सभापति रमेश यादव लगायतले मेयर सिंहमाथि कारबाहीको माग गरेका थिए । मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयलगायत विभिन्न सरकारी निकायहरुमा छुट्टा–छुट्टै गरी १६ वटा जाहेरी परेको छ । आवश्यक कारबाहीको माग गर्दै वीरगञ्जलगायत राजधानी काठमाण्डुमा विपक्षी खेमाले नियमित दबाब बनाउँदै आएको छ ।
जिल्ला प्रशासनमा नै नागरिकता सम्बन्धी सम्पूर्ण कागजात रहने गरेकाले १५ दिन बितिसक्दा पनि छानबिन समितिले प्रतिवेदन पेश गरेको छैन् । मेयरलाई जोगाउन प्रशासनले छानबिन थालेको आरोप लगाइरहेका स्थानीयले संघर्षलाई अझ चर्काउने संकेत दिएका छन् ।
सिंहविरुद्ध जनता समाजवादी पार्टी९ जसपा० बाहेक सबै दलका नेताहरु सक्रिय रुपमा लागेका छन् । उनीहरुले कारबाही नभए प्रशासन कार्यालय घेराउलगायतका विरोध कार्यक्रमहरु गर्ने चेतावनी दिएका छन् ।
नेपालमा गैरकानुनी रुपमा नागरिकता लिने, दिलाउने सबैलाई कारबाही हुने कानुनी प्रावधान रहेको छ । नागरिकता किर्तेको मुद्दा फौजदारी हुने भएकाले मेयर कारबाहीमा पर्दा निलम्बन हुने कानुन व्यवसायीहरुको तर्क छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…