कृष्णाष्टमीको मूर्ति तोडफोड गरेपछि महोत्तरीको महदैया तनावग्रस्त
अहिले सो स्थानमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । ज्ञातव्य छ, केही दिन अगाडी हिन्दु सम्राट सेनाका सोही समूहले जनकपुरको सँकटमोचन स्कूलमा असमाजिक गतिविधि गरेपछि सार्वजनिक रुपमा माफी माग्नुपरेको थियो ।

२०८० भदौ १२ मंगलबार, बेलुकी ५:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरी जिल्लाको महदैया तपनपुर अहिले तनावग्रस्त बनेको छ । हिन्दु धर्मावलम्बीहरुले मनाउने कृष्णाष्टमीको लागि निर्माण गरिएको प्रतिमा तोडफोड भएपछि अवस्था तनावग्रस्त बनेको हो ।
महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका वडा नं. ३ महदैया चोकस्थित अहिले अवस्था तनावग्रस्त बनेको छ । गएराती अज्ञात व्यक्तिहरुले मूर्ति तोडफोड गरेको भन्दै स्थानीयहरुले दोषीलाई पहिचान गरी कारवाही गर्न माग गरेको हो ।
सोही क्रममा हिन्दु सम्राट सेनाका सदस्यहरु महदैया पुगेर बितण्डा मच्चाएका छन् । स्थानीयहरुबीच मूर्ति तोडफोड गर्ने अराजक तत्वलाई पहिचान गरी कानुनी र समाजिक दायरामा ल्याउने छलफल भईरहँदा हिन्दु सम्राट सेनाका सदस्यहरुले त्यसलाई भाँडदै धार्मिक द्धन्द्ध निमत्याउने गतिविधि गरेपछि अवस्था तनावग्रस्त बनेको स्थानीयहको आरोप छ ।
मूर्ति तोडफोडमा स्थानीय मुस्लिम समुदायको केही अराजक व्यक्तिहरुको सँलग्नता रहेको आशंका गरिएकोमा सोही अनुसार दुवै समुदायबीच छलफल भईरहेको अवस्थामा हिन्दु सम्राट सेनाले वातावरण खलल पारेको आरोप छ ।
स्थानीयहरुले दुई समुदायबीच नै बसेर छलफल गरी दोषी पत्ता लगाई कारवाहीको लागि छलफल गरिरहँदा हिन्दु सम्राट सेनाका राजेश यादव, लक्ष्मी साह, पुनम मण्डल लगायतका अन्य सदस्यहरुले जोर जबरदस्ती गर्न खोजेको आरोप स्थानीयको छ । उनीहरुले आफ्नै समुदायमा घटना मिलाउने कुरा भईरहँदा हिन्दु सम्राट सेनाले जबरदस्ती उचाल्न खोजेको आरोप छ ।
स्थानीयहरुले हिन्दु सम्राट सेनालाई त्यहाँबाट जानको लागि आग्रह गरेपनि उनीहरुले योजना तहत द्धन्द्ध गराउन खोजेको आरोप पनि लगाएको छ । गाउँलेहरुले उनीहरुलाई सो स्थानबाट जानको लागि फटकार लगाएपनि उनीहरुले अवस्था तताएको बताईएको छ ।
अहिले सो स्थानमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । ज्ञातव्य छ, केही दिन अगाडी हिन्दु सम्राट सेनाका सोही समूहले जनकपुरको सँकटमोचन स्कूलमा असमाजिक गतिविधि गरेपछि सार्वजनिक रुपमा माफी माग्नुपरेको थियो ।
जानकारी अनुसार, धार्मिक द्धन्द्ध गराई राजनीतिक फाईदा लिन यस्तो घटना सुनुयोजित बनाएको हो । केही राजनीतिक दलका कार्यकर्ताहरुले धार्मिक युद्द गराउन प्रपँच रचेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…