आरती साहका परिवारसहित २० जना प्रदर्शनकारी सिंहदरबार अगाडिबाट पक्राउ
न्यूज ब्यूरो, काठमाडौँ। सिंहदरबार अगाडी प्रदर्शन गरेपछि जनकपुरकी आरती साहका परिवार सहित २० जना सोमबार पक्राउ परेका छन्। मृतक आरतीका लागि न्याय माग्दै बसेका उनीहरूलाई आज सिंहदरबार गेटअगाडिबाट प्रहरीले जबर्जस्ती हटाउने मात्र होइन, दुर्व्यवहारसमेत गरेको छ। रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका-९

२०८० साउन २९ सोमबार, दिउँसो २:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ। सिंहदरबार अगाडी प्रदर्शन गरेपछि जनकपुरकी आरती साहका परिवार सहित २० जना सोमबार पक्राउ परेका छन्।
मृतक आरतीका लागि न्याय माग्दै बसेका उनीहरूलाई आज सिंहदरबार गेटअगाडिबाट प्रहरीले जबर्जस्ती हटाउने मात्र होइन, दुर्व्यवहारसमेत गरेको छ।
रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोककी २२ वर्षीया आरती साहलाई न्याय माग्दै बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको छ।
सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध आरती साहका आफन्तले गएको असारमा किटानी जाहेरी दिएका थिए।
आरती ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन्। आरतीको श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन व्याहुत अहिले पुर्पक्षका लागि थुनामा छन्। गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
आरतीको माइती पक्षले मोतीबाबु, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो।
तर प्रहरीले सुरुमा आत्महत्या देखिएको भन्दै आत्महत्यासम्बन्धी दुरुत्साहन कसुरमा जबर्जस्ती जाहेरी दिन लगाएको थियो।
तर माइत पक्षले हत्या भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान राखेका थिए। त्यसपछि प्रहरीले अनुसन्धानमा पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुवैविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
२ वर्षअघि विवाह भएकी आरतीको माइती पक्षले २५ लाख रुपैयाँ दाइजो दिएका थिए। तर आरतीका पति र उनका ससुराले दाइजो कम ल्याएको भन्दै आरतीमाथि दुर्व्यवहार गर्दै आएका थिए। पछि थप दाइजो माग्दै छोरीलाई यातना दिने गरेको र अन्त्यमा हत्या नै गरेको माइतपक्षले दाबी गर्दै आएको छ।
यस क्रममा प्रहरीले १८ जना पुरुष र २ जना महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा यानका अध्यक्ष राहुल राज यादव, युवा नेता शिव यादव, जय प्रकाश यादव, बिकाश यादव, चुडामणि यादव, प्रभात कुमार लहेरा, विक्रान्त ठाकुर, पुरुषोतम महतो, अफजल सिख, गौतम शर्मा, राजु कुमार महतो, आकाश महतो, माधव भूमिहार, तिलक साह, राहुल यादव, धिरेन्द्र यादव, राजु साह, रमेश यादव, दिपेन्द्र सर्राफ र मृतक आरती साहका परिवार मनिषा साह, बिनोद प्रसाद साह, निर्मला देवी साह, प्रेम साह रहेका छन्।


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…