मिर्चैया विकासको लागि अगाडी बढिसक्यो, जनता साथ छ, कसैले रोकेर रोकिन्नः मेयर यादव
कार्यक्रममा मधेश प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव, माओवादी नेता अजय शंकर नायक, प्रदेश सांसद त्रिभुवन साह, सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायत सुरक्षा निकायहरू अधिकारीहरु, जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको सहभागिता थियो ।

२०७९ फागुन १० बुधबार, बिहान ९:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले मिर्चैया नगरपालिका विकासको पथमा अग्रसर भईसकेको बताएका छन् ।
पहिलो कार्यकालमा जनताको भावना अनुसार जनविकास भएपनि दोस्रो कार्यकालमा जनतालाई नै साथमा राखेर विकासको पथमा दौड लगाएको बताएका छन् ।
मँगलबार मिर्चैया नगरपालिकाको १० औँ अधिवेशनको प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर यादवले विपक्षीहरुलाई विकास अवरोधको लागि मसाला मात्र खोजेको बताए । उनले विपक्षीहरुले अनावश्य अवरोध खडा गरी विकास रोक्न खोजेको भन्दै अब जनताले आफैँ प्रतिकार गर्ने बताए ।
पहिलो कार्यकालको हवाला दिँदै मेयर यादवले विपक्षी, व्यापारी, आम नागरिक सबैको भावना बुझेको बताए । उनले अझै पनि राजनीतिक दलको हिसाबले विकासमा अवरोध खडा गर्नेलाई जनताले जवाफ दिने दाबी गरे ।

‘म पहिलो कार्यकालमा यहाँका सबैको नश(नश नापिसकेँ, अब दोस्रो कार्यकालमा म यहाँको विकासका लागि निर्मम भएर अगाडी बढिसकेको छु,’ उनले भने, ‘यसमा सहयोग गर्न सबैलाई आह्वान गर्दछु, तर कसैले रोक्न खोजे म अब रोकिनेबाला छैन ।’
पहिलो कार्यकालमा विभिन्न अवरोधका बावजुद मिर्चैयाको चौतर्फी विकासका निम्ति आफूले थुप्रा कामहरु गरेको उनले उल्लेख गरे । जनताले दोस्रो कार्यकालका लागि पनि आफूलाई अनुमोदन गरेको र आफ्नो साथमा जनता भएको भन्दै अब आफूलाई कसैको अवरोधले फरक नपर्ने उनले बताए ।
मेयर यादवले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, युवा विकास, सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा नगरपालिका मिसन बनाएर अघि बढेको जानकारी दिएका छन् । यस मिसनमा सघाइरहेका सबैलाई उनले धन्यवाद ज्ञापन गरे ।
अधिवेशनको क्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले मिर्चैया नगरपालिकाको प्रशासनीक कार्य जिल्लाभरिमै उच्च स्थानमा रहेको दाबी गरे ।
कर्मचारीहरुको कार्य सम्पादन, नियम, निष्ठा, कानुनी कार्यहरुको लागि कर्मचारीहरुले कुनै हालातमा कम्प्रोमाईज नगर्ने बताए । अधिकृत यादवले जनप्रतिनीधि र कर्मचारीबीचको समन्वय समेत उत्तम रहेकोले नगर विकासको लागि कुनै प्रकारको बाधा अवरोधलाई निराकरण गर्न समक्ष रहेको बताए ।
उनले मिर्चैयामा जनप्रतिनीधि र कर्मचारी एक परिवारझैँ रहेको बताउँदै आन्तरिक रुपमा समेत कुनै समस्या नरहेको औल्याएँ ।
कार्यक्रममा नगरपालिकाकी उपमेयर जिवछी देवी, मधेश प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव, माओवादी नेता अजय शंकर नायक, प्रदेश सांसद त्रिभुवन साह, सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायत सुरक्षा निकायहरू अधिकारीहरु, जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…