मधेशमा अझै सँघर्षको आवश्यकता छः यादव
कार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवम् प्रदेश सभा सदस्यका समानुपातिक प्रत्याशी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको कामहरुबारे चर्चा गरे ।

२०७९ कार्तिक १९ शनिबार, बिहान ८:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह लगायत अन्य विभिन्न आन्दोलनहरुले ल्याएको उपलब्धि संस्थागतका लागि संघर्षको आवश्यकता अझैं रहेको बताएका छन् ।
राजविराज नगरपालिका–२ को राजदेवी टोलमा शुक्रवार आयोजित चुनावी भेलामा उनले भने–‘मधेश विद्रोह लगायत त्यसका पूरक आन्दोलनले मधेशीलाई अधिकार त दिलायो तर अझैं पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ ।’
अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने जिकिरका साथ उनले अहिले पनि आफू मधेशलाई आधारभूमि बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्पसंख्यकको अधिकारका लागि प्रयत्नशील रहेको बताए ।
संघीयता र गणतन्त्र जस्ता उपलब्धि हासिल भए पनि तराई मधेशमा जनसंख्याको आधारमा बजेट नदिइएका कारण यहाँको विकास हुन नसकेको भन्दै नेता यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भइरहेको आरोप लगाए ।
मुलुकमा सात प्रदेशहरुमध्ये पहिचानका आधारमा एक मात्र मधेश प्रदेश बन्नु आफूहरुको लागि गौरवको विषय रहेको उनको कथन थियो । सप्तरीलाई शिक्षा र स्वास्थ्यको हबको रुपमा अघि बढाएको बताउँदै अध्यक्ष यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, कृषि विश्वविद्यालय, नर्सिङ्ग कलेज लगायतको काम पूरा भएपछि जिल्लामा विकासले गति लिने दाबी गरे ।
यादवलाई उनका प्रतिद्वन्दी सत्तारुढ गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुरले विकास नगरेको आरोप लगाएका छन् ।यादवले गरेको विकासको फेहरिस्त सुनाउँदै अधिकार रक्षाको विषय उठाए पनि नागरिकता विधेयकको चर्चा भने गरेनन् ।
चुनावी गठबन्धन गर्नु अगाडि अध्यक्ष यादवले एमालेलाई संघीयता विरोधी र मधेशको अधिकार हरण गर्ने आरोप लगाउँदै आएका थिए । जिल्लामा रहेको औद्योगिक क्षेत्रको पूर्ण क्षमताका साथ सञ्चालन तथा औद्योगिक वातावरणका लागि भारतीय सीमावर्ती क्षेत्र न्यौरदेखि सप्तरीको राजविराज हुँदै गाईघाट सोलु जोड्ने सडक निर्माणको काम अगाडि बढिसकेको अध्यक्ष यादवले बताए ।
कार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवम् प्रदेश सभा सदस्यका समानुपातिक प्रत्याशी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको कामहरुबारे चर्चा गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…