जनमतको पार्टी प्रवेश कार्यक्रमले विद्यालयको पठनपाठन प्रभावित

२०७९ असोज ६ बिहीबार
बिहान ०९:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  आफूलाई अलग सोच र प्रवित्तिको पार्टी भनाउने जनमत पार्टीको कारण एक समुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । 

अन्य पार्टी जस्तै विद्यालय क्षेत्रभित्र पार्टी प्रवेश कार्यक्रम गर्दा विद्यालय बीचमै बन्द गर्नुपरेको अवस्था सृजना भएको थियो । 

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत सिरहा स्थित औरही गाउँपालिका वडा नं ५ को एक समुदायिक विद्यालयको प्राङ्गणमा कार्यक्रम गर्दा बुधबार विद्यालयमा पठनपाठन केही बेर प्रभावित बन्यो । 

सो पार्टीले आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा. सिके राउत औरही स्थित सुन्दर जनता माध्यमिक विद्यालयमा कार्यक्रम सम्बोधन गर्न आएका थिए। पार्टीगत कार्यक्रम गर्न शैक्षिक कार्य प्रभावित समेत गरियो । 

विद्यालयको प्राँगनभन्दा खेल मैदानमा आयोजना गरिएको सो कार्यक्रमको लागि राखिएको डिजे, लाउडस्पीकरले विद्यार्थीहरुलाई अध्ययन अध्ययापनमा समस्या हुने भन्दै ४ बजेसम्म खुल्ने विद्यालय बीचमै बन्द गरी विद्यार्थीहरुलाई घर फर्काइएको थियो । 

केही दिन अगाडी एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम हुँदा गोलबजार ८ पुरानो चोहर्बास्थित विद्यालय बन्द गरिएको थियो । विद्यालयभित्रै कार्यक्रम गर्दा विद्यालय बन्द गरिएको थियो । 

यद्यपी, डा. सिके राउतको कार्यक्रम विद्यालयको खेल मैदानमा गरिएपनि एक दिन विद्यालय बन्द गरी कार्यक्रम गरिएको आरोप केही स्थानीयहरुले लगाएका छन् । 

यता, विद्यालयभन्दा करिब १०० मिटर टाढा कार्यक्रम राखी दिउँसो ३ बजेदेखि मात्र कार्यक्रम गरिएको दाबी जनमत पार्टीले गरेको छ । विद्यार्थीहरुलाई कुनै प्रकारको डिस्टर्ब नगरिएको दाबी गरिएको छ । 

जनमत पार्टीका सिरहाका नेता दिपेन्द्र यादवका अनुसार, दिउँसो ३ बजेदेखि मात्र लाउडस्पीकरहरु बजेको र त्यसअघि विद्यालयबाट विद्यार्थीहरु गइसकेको बताए । उनले आरोपलाई निराधार बताए । तर, २ बजे देखि नै जनमत पार्टीका कार्यकर्ता फेसबुकमा लाइभ गर्दा ठुलो साउण्डमा डिजे बजिरहेको पाइएको छ ।

यस सन्दर्भमा सो विद्यालयका प्रधानाध्यापक ईन्द्रदेव यादवलाई सम्पर्क गर्दा उनले डिजेको कारण विद्यालयको पठनपाठन प्रभावित भएको पुष्टि गरे । 


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus