दाजुभाई मिलेर बहिनीको प्रेमीलाई मारे, लास भारत लगेर छाडे
थप अनुसन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी भारत लगी छोडेको पटेल दाजुभाइले स्वीकारेका थिए ।

२०७९ साउन ३० सोमबार, बिहान ६:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशस्थित एक परिवारको दाजुभाई मिलेर बहिनीको प्रेमीलाई मारेर लास भारतमा लगी छाडेको खुलेको छ ।
बाराको बिश्रामपुर गाउँपालिका-५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेल रहेका छन् ।
प्रहरीका अनुसार राजकुमार ट्युसन पढ्न पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवातर्फ साईकल चढी गएपछि सम्पर्क विहीन भएका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगन्ज महानगरपालिका(१६ नगवास्थित टेलर सञ्चालन गर्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी भारत लगी छोडेको पटेल दाजुभाइले स्वीकारेका थिए ।
उनीहरूले शवलाई ना. ३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेशन पुर्याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा छोडेको प्रहरीले जनाएको छ ।
उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…