नागरिकता विद्येयक बहुमतले पारित, अब आमाको नामबाट यी शर्तमा नागरिकता पाउने
‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ’ संविधानको धारा ११ ९५० मा उल्लेख छ । यसको अर्थ हो, संविधानले आमाको नामबाट पनि नागरिकता जारी हुने ढोका खुला गरेको छ ।

२०७९ साउन ६ शुक्रबार, राति ८:३६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो ।
नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे ।
नागरिकता विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए ।
गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए । उनले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमति जुटाएर अघि बढाउन सक्ने बताए ।
प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।
‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ’ संविधानको धारा ११ (५) मा उल्लेख छ । यसको अर्थ हो, संविधानले आमाको नामबाट पनि नागरिकता जारी हुने ढोका खुला गरेको छ ।
संविधान जारी भएको ७ वर्षसम्म आमाको सार्वभौमसत्ता कार्यान्वयनमा आउन सकेन । कारण– संविधान कार्यान्वयन गर्ने गरी संघीय कानुन नै बनेन । तर, शुक्रबार प्रतिनिधिसभाले आमाको नामबाट पनि नागरिकता बनाउन सकिने गरी विधेयक पारित गरेको छ । तर, बुवाको पहिचान हुन नसकेको नेपाली नागरिकले आमाको नामबाट निशर्त नागरिकता भने पाउने छैनन् ।
आफ्ना सन्तानलाई नागरिकता दिन र आफ्नो नामबाट नागरिकता दिलाउन नेपाली नागरिक आमाले राज्यले तय गरेका चारवटा शर्त पूरा गर्नुपर्नेछ । यस क्रममा राज्यले सोध्ने अनगिन्ती प्रश्नहरुको जवाफ दिनुपर्नेछ । गृहमन्त्रालयले तयार पार्ने नियमावलीमा प्रश्नहरुको ढाँचा राखिनेछ ।
पारित विधेयकले अघि सारेको शर्त अनुसार आफ्ना सन्तानलाई नागरिकता दिन नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यहोराको ‘निज र निजको आमाले तोकिए बमोजिमको स्वघोषणा गर्नुपर्ने’ व्यवस्था छ ।
तर, निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगान नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नुपर्ने व्यवस्था शुक्रबार पारित भएको विधेयकमा छ ।
आमाले आफ्नो सन्तानलाई नागरिकता दिलाउँदा एउटा शर्तको पालना गर्नुपर्ने हुन्छ । पारित विधेयकको दफा ४ मा आमाले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउँदा आमा र उसको सन्तान दुबैले बाबुको पहिचान हुन नसकेको भनी स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।
‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा गर्नुपर्ने’, दफा ४ को उपदफा १ ९ (क) मा उल्लेख छ ।
आमाको नामबाट नागरिकता प्राप्तीको निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सो को प्रमाणसहित निवेदकले स्वघोषणा गर्नुपर्ने प्रावधान यही दफामा राखिएको छ । गृह मन्त्रालयका अनुसार स्वघोषणाको ढाँचा नियमावलीमा तोकिनेछ ।
यसले शर्त सहित भएपनि संविधान अनुसार आमाको नामबाट नागरिकता जारी गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजाने बाटो खोलेको छ । तर, राखिएका शर्तहरु (स्वघोषणा) झुटो ठहरिए कारबाहीको भागीदार हुनुपर्नेछ ।
पारित विधेयक अनुसार बाबुको पहिचान हुन नसकेको भनी गरेको स्वघोषणा झुटो ठहरिए एक बर्षदेखि तीन वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
‘‘स्वघोषणा झुटो ठहरेमा त्यस्तो झुट्टो स्वघोषणा गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । झुटो स्वघोषणा गरी नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ’ पारित विधेयकको दफा ५ को ९३ ( ग) मा उल्लेख छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…