जनकपुरः धनुषाकोश शहिदनगरमा पनि हवाई फायर, सप्तरीमा अधिकृत कुटिए
उनका अनुसार कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।

२०७९ बैशाख ३० शुक्रबार, दिउँसो १:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज जारी रहेको आसन्न स्थानीय तहको चुनावको लागि विभिन्न मतदान केन्द्रहरुमा विवाद भएपछि प्रहरीले बल प्रयोग गर्न बाध्य भएको छ ।
सोही क्रममा दिउँसो धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेका छन् ।
शहिदनगर नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
विवादबारे बुझेपछि आफू उक्त मतदानस्थलमा पुग्न लागेको निर्वाचन अधिकृत उत्तम प्रसाद खरेलले जानकारी दिएका छन् ।
सोही क्रममा सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको छ । घट्नापछि मतदान स्थगित भएको छ ।
डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।
उनका अनुसार कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।
२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।
घट्नापछि मतदान स्थगित भएको छ । आज मतदान हुने सम्भावना कम रहेको निर्वाचन अधिकृत मगरले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…