देशमै सबभन्दा बढी उम्मेदवार मधेश प्रदेशमा, मेयरमै १३०० बढी उम्मेदवारी
देशभरिमा ३५ हजार २२१ पदको लागि त्यतिको उम्मेदवारी परेको हो ।

२०७९ बैशाख १३ मंगलबार, बिहान ९:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तह निर्वाचन २०७९ को लागि आईतबार र सोमबार भएको मनोयन दर्ताको क्रममा देशभरिमै सबभन्दा अधिक उम्मेदवारी मधेश प्रदेशमा भएको छ ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयले जारी गरेको तथ्याँक अनुसार ७ प्रदेशमध्ये सबभन्दा बढी उम्मेदवारी मधेश प्रदेशबाट परेको हो ।
निर्वाचन आयोगको तथ्याँक अनुसार, प्रदेश नम्बर १ मा २१ हजार ८ सय ७९ उम्मेदवारी दर्ता भएको हो । आईतबार र सोमबार गरी दुई दिनमा सो उम्मेदवारी परेको हो ।
निर्वाचन आयोगले बैशाख ११ र १२ गते गरी दुई दिन मनोयन दर्ताको समय तोकेको थियो । मनोयन दर्ताको समावधी सम्पन्नपछि दिइएको रिपोर्ट अनुसार प्रदेश १ मा त्यतिको उम्मेदवारी परेको हो ।
प्रदेश नम्बर १ मा मेयरमा ४१९ जनाको उम्मेदवारी परेको छ भने उपमेयरमा ३११ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ४८९ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ३९१ जनाको उम्मेदवारी परेको हो ।
प्रदेश नम्बर १ मा वडाध्यक्षहरुमा ५०१७ जनाको उम्मेदवारी परेको छ भने महिला सदस्यमा ३८०० जनाको उम्मेदवारी परेको छ । दलितमा ३४०४ तथा खुल्लामा ८०४८ जनाको उम्मेदवारी परेको छ ।
यस्तै, मधेश प्रदेशमा कुल ३४ हजार ७४७ जनाको उम्मेदवारी परेको तथ्याँक छ । यो तथ्याँक संघीय नेपालको ७ प्रदेशमध्ये सबभन्दा बढी रहेको छ ।
मधेश प्रदेशमा मेयरमा मात्र १३०४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा ६२४ जना, गाउँपालिका अध्यक्षमा ८६६ जना, उपाध्यक्षमा ४६१ जना, वडाध्यक्षमा ८३०४ जना, महिला सदसस्यमा ५८०२ जना, दलित महिला सदस्यमा ५५०१ जना र खुल्लामा ११८८६ जनाले उम्मेदवारी दर्ता गराएको हो ।
यस्तै, बागमति प्रदेशमा २३०९६ जना, गण्डकी प्रदेशमा १२१४६ जना, लुम्बीनीमा २१६५९ जना, कर्णालीमा १२३१८ जना र सुदुरपश्चिम प्रदेशमा ११०९८ जना गरी कुल १ लाख ३७ हजार ९३ जनाको उम्मेदवारी दर्ता भएको हो ।
देशभरिमा ३५ हजार २२१ पदको लागि त्यतिको उम्मेदवारी परेको हो । यसरी देशभर निर्वाचित हुने ३५ हजार २२१ जनप्रतिनिधको लागि एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको हो । यो मंगलबार बिहान साढे सात बजेसम्म प्रणालीमा प्रविष्टि भएको विवरण हो ।

तथ्याङ्कलाई अझै विश्लेषण गर्ने हो भने प्रमुख पदको लागि सबैभन्दा बढी अर्थात ११.२ गुणा मनोनयन दर्ता गराउँदा सबैभन्दा कम दलित महिला सदस्यमा ३.१५ गुणा बढी उम्मेदवारी दर्ता भएको हो ।
आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…