सिरहाः चोहर्वा–माडर सडक चार लेन र मिर्चैया–सिरहा दुई लेनको पीच बन्दै
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आर्थिक विकास र समृद्धिको प्रमुख आधार सडक नै रहको बताइन् । सिरहाको यो दुबै सडक निर्माण भए यहाँको विकासले गति लिने विश्वास उनले व्यक्त गरिन् । मन्त्री यादवले सडक निर्माणको कार्य समयमै सम्पन्न हुने प्रतिवद्

२०७८ चैत ११ शुक्रबार, राति १०:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लास्थित एकै दिन दुई सडक निर्माणको लागि शिलान्यास गरिएको छ ।
सिरहाको चोहर्वा–सिरहा–माडर चार लेन र मिर्चैया–कल्याणपुर–सिरहा दुई लेन गरी दुई सडक योजनाको शुक्रबार एकैदिन शिलान्यास गरिएको हो ।
दुबै सडक योजनाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र जसपा नेता तथा सिरहा ४ का प्रतिनिधिसभा सांसदसमेत राजकिशोर यादवले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
दुबै सडकका लागि पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४०/४० करोड रुपैयाँ विनियोजन गरेको छ ।
सडकको डिपिआर अनुसार २२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा पहिलो चरणमा २५ सय ५० मिटरको काम हुनेछ । यो सकडमा गाउँ क्षेत्रमा १४ मिटर र शहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना रहेको छ ।
यस्तै, मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्डमा पहिलो चरणमा ८५ सय ८० मिटरको काम हुनेछ । दुई लेनको यो सडकको चौडाइ भने ११ मिटर रहनेछ ।
सडक निर्माणको समयावधि २ वर्षको रहेको छ । सिरहा सदरमुकाम जोड्ने चोहर्वा–सिरहा–माडर सडक र यस क्षेत्रको लाइफलाइन मानिने मिर्चैया–कल्याणपुर–सिरहा सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आर्थिक विकास र समृद्धिको प्रमुख आधार सडक नै रहको बताइन् । सिरहाको यो दुबै सडक निर्माण भए यहाँको विकासले गति लिने विश्वास उनले व्यक्त गरिन् । मन्त्री यादवले सडक निर्माणको कार्य समयमै सम्पन्न हुने प्रतिवद्धतासमेत जनाइन् ।
यस्तै, सांसद यादवले लामो प्रयासपछि यत्रो ठूलो लगानीको सडक आयोजना सिरहामा ल्याउन सकिएको बताउँदै यसको निर्माणको काम सम्पन्न भइसकेपछि यहाँका जनताको जनजीवन सहज हुने र जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास लिए । उनले सडक निर्माणको कार्यमा सबै क्षेत्रलाई सकारात्मक सहयोगका लागि आग्रहसमेत गरे ।
कार्यक्रममा प्रदेश सांसद सुरेश कुमार मण्डल, जसपा नेता रामरिझन यादव लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…