परिक्रमालाई लिएर भोली सार्वजनिक विदाको घोषणा
त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् ।

२०७८ फागुन २५ बुधबार, राति १०:४० बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबभन्दा ठुलो धार्मिक पदयात्रा रहेको १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्करलाई स्वागतको लागि एक स्थानीय तहले भोली विहिबार सार्वजनिक विदा दिएको छ ।
मधेश प्रदेशको गौरव र विश्वचर्चित रहेको धार्मिक परिक्रमाको सातौ पडाव (विश्रामस्थल) महोत्तरीको कँचनवनमा भएकोले साधुसन्त र श्रद्धालुहरुको स्वागतको लागि एक दिने सार्वजनिक विदा दिएको हो ।
महोत्तरी जिल्लाको भँगहा नगरपालिका वडा नम्बर ९ मा पर्ने बृहत्तर जनकपुर क्षेत्रको कँचनवनमा भोली परिक्रमाको धार्मिक लस्कर आउने भएपछि स्थानीय सरकारको हैसियतले सो नगरपालिकामा एक दिने सार्वजनिक विदा दिएको हो ।
मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरु विहिवार भगवानको डोला सहित विहिवार कञ्चनवन पुग्ने भएपछि एक दिने सार्वजनिक विदा दिएको नगर प्रमुख सँजीव कुमार साहले जानकारी दिए ।
त्रेता युगमा भगवान श्रीरामले सोही ठाउँमा होली खेलेको किम्बदन्ती अनुसार १५ दिने धार्मिक पक्रिमाको सबभन्दा आनन्दमयी र रँगैरँगको पर्वझैँ कँचनवनमा हुने गरेको मेयर साहले थपे ।
भोली कँचनवन पुग्ने परिक्रमा यात्रीहरुको स्वागतका लागि भन्दै महोत्तरीको भंगहा नगरपालिकाले विहिवार नगरभित्र सार्वजनिक बिदा दिएको पनि उनले बताए ।
उनले भने, –“१५ दिने माध्यमिकी परिक्रमा मधेशको मात्र होईन, समग्र देशको गौरव र आस्था हो । हाम्रो नगरमा भोली धार्मिक यात्रीहरुले कदम राख्ने भएपछि उहाँहरुको स्वागत सत्कारको लागि सम्पूर्ण भँगहा नगरवासी आफ्नो कामधाम छाडेर जाने गर्छन् । भोली हामी अतिथि सत्कार र स्वागत गर्नेछौँ ।”
भोली विहानैदेखि परिक्रमाको धार्मिक यात्रीहरुको लागि अहिलेदेखि नै तयारी सुरु गरिएको छ । मेयर साह आफैँ कँचनवन पुगेर स्वागतको तयारीमा लागेका छन् । उनले अबेर रातीसम्म तयारी चल्ने बताए ।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सातौं दिन विहिवार कञ्चनवनमा परिक्रमा यात्रीहरु विश्राम गर्ने हुँदा स्वागत सत्कारका लागि नगरभर सार्वजनिक बिदा दिइएको मेयर साहले बताए ।
विहिवार भंगहा नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य चौकी (इमरजेन्सी सेवा बाहेक), विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने जनाएको छ ।
कञ्चनवनमा प्रत्येक वर्ष परिक्रमा यात्री आएपछि ‘होली महोत्सव’ को आयोजना हुँदै आएको छ । यस वर्ष पनि कञ्चनवनमा ‘होली महोत्सव’ को आयोजना हुने भएको छ ।
मिथिला मध्यमा परिक्रमा यात्रीहरुसँगै त्यहाँ मेला हेर्न आउने भक्तजनहरु एकआपमा रंग अविर दलेर होली मनाउने गर्छन् ।
पौराणिक कालमा कञ्चनवनमा भगवान राम र माता सीताले होली खेलेको स्मरणमा यहाँका आउने परिक्रमाका यात्रीहरु होली मनाउने परम्परा रहेको छ । यस अघि महोत्तरीकै मटिहानी नगरपालिकाले परिक्रमा यात्रीहरुका लागि सार्वजनिक विदा दिएको थियो ।
यता, मिथिला माध्यमिकी परिक्रमा यात्रीहरु राम सीताको डोला सहित आठौं दिन धनुषाको क्षीरेश्वरनाथ दर्शन गर्दै पर्वतामा पुगेर विश्राम गर्नेछ । यस्तै नवौ दिन धनुषाकै प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा पुगेर विश्राम गर्नेछ ।
धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।
कञ्चनवनमा अग्निकुण्डाको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ ।
त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् ।
फागुन पुणिर्माका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तगृही परिक्रमा पुरा गरेर घर र्फकने गर्छन् ।
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…