जनकपुरमा बच्चा चोरी गर्ने गिरोह पक्राउ
बुधबार साँझ करिब ६ बजेको समयमा महाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन् ।

२०७८ माघ २७ बिहीबार, बेलुकी ७:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थितबाट बच्चा चोरी गर्ने गिरोहलाई नै प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बुधबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ महराजसागरस्थितबाट बच्चा चोरी भएको घटनाको केही घण्टामै प्रहरीले सक्रियता देखाएपछि बच्चा चोरको गिरोहलाई नै पक्राउ गर्न सफल भएको हो ।
बुधबार साँझ जनकपुरधाममा ७ महिने एक नाबालकलाई चोरी गरेर भागेको गिरोहलाई प्रहरीले विहिबार बिहानै जनकपुरको बेँगाशिवपुरबाट पक्राउ गरेको हो ।
बच्चा चोरी गरेर भागेकी दुई महिलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० बस्ने संजित मुखियाकी ३५ वर्षीया पत्नी मनिषा देवी मुखिया, औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने बिगुल मुखियाकी २० वर्षीया पत्नी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर(७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।
बुधबार साँझ करिब ६ बजेको समयमा महाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन् ।
प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको बेला रातो साडी लगाएर आएकी मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई शिशुलाई लिएर फरार भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको टोलीले खोजतलास गर्दै जाँदा सोधपुछ तथा अनुसन्धानबाट बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम वडा नम्बर १९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरले जानकारी दिए ।
घटनाको समयमा मनिषासँगै रहेको आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेको एसपी रजौरेले बताए ।
पक्राउ परेका कृष्ण कुमारले मनिषासँग १३ हजार रुपैयाँ लिई बच्चा उपलब्ध गराउने सर्त राखेको कुरा अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि अपहरणसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…