जन–कारवाहीपछि झन बढयो डा. सिके राउतप्रतिको क्रेज
डा. राउतको पार्टीको जनकारवाहीपछि अहिले समाजिक सँजालमा पनि तातिएको छ ।

२०७८ कार्तिक ७ आइतबार, बिहान ८:११ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा एक कर्मचारीमामाथि गरेको जन–कारवाही (भनिएको) पछि पार्टी अध्यक्ष डा. सिके राउतप्रतिको क्रेज झन बढेको चियोचर्चा चलेको छ ।
गत विहिबार जनकपुरस्थित रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका ईन्जिनीयर राजेश कुशवाहालाई भ्रष्टाचार गरेको आरोपमा अर्धनग्न पारी बजार घुमाएपछि तराई मधेशको विभिन्न जिल्ला सहित देशको विभिन्न जिल्लाबाट जनकारवाहीको समर्थन गरिएको छ ।
बिना घुसको आमाबुवाको नामबाट नागरिकता समेत नपाइने ठाउँमा जनकपुर जस्तो नगरीमा ढल निकासको लागि पनि भ्रष्टाचार गरेको ईन्जिनीयरलाई अर्ध नग्न पारी बजार घुमाउन ढिलो मात्र भएको विदेह नगरपालिका वडा नं. ३ का ७२ बर्षिय रामु यादवले चियोचर्चामा समर्थन जनाए ।
स्वतन्त्र मधेश गठबन्धनको मुद्दा बोकेकै बेलादेखि तराई मधेशको विभिन्न जिल्लामा डा. सिके राउतको क्रेज युवाहरुमा देखिएको थियो । मूलधारको राजनीतिमा आएपछि पनि उनको सिद्धान्त, विचार र दीर्घकालिन राजनीतिक योजनालाई युवाहरुले खुलेर समर्थन गरिरहेका छन् ।
तराई मधेशमा सदैव आफूप्रतिको क्रेज कायम राखेका डा. राउतले जनकपुरमा गरिएको भनिएको जनकारवाहीपछि उनीप्रति थप क्रेज बढेको देखिएको छ । तराई मधेशको गाउँ गाउँमा डा. राउत र जनमत पार्टीको कार्यलाई सराहना गर्दै गरेका छन् ।
जनमत पार्टीको तौर तरिका मात्र फरक भएको बताउँछन् ग्रामिणहरु । रेडियो मार्फत, फेसबुक मार्फत जनकारवाहीको समाचार थाहा पाएपछि उनीहरुले डा.राउतको पार्टी र उनलाई समर्थन जनाएका छन् ।
गाउँघरको चिया पसलमा कम्तीमा पनि ४ घण्टासम्म चल्ने चियोचर्चामा अहिले जताततै डा. राउतको चर्चा चलिरहेको छ । गाउँपालिका, नगरपालिकामा समेत एक सिफारिसको लागि पीडित भएका नागरिकहरुले खुलेर डा. राउतको समर्थनमा उत्रेका छन् ।
“जिल्ला प्रशासन कार्यालयमा सबै कागजात पुरा गरेर पनि नागरिकता लिनको लागि १३ दिन दगुरे, १४ औँ दिनमा पनि बिना घुसको काम भएनन् । यो १३ दिनमा कति समय खेर गयो, सबै काम छाडे, अटो भाडा तिरे, भोकै दिनभरि बसे, यतिको पीडा सहेर, आजित भएर १४ दिनमा नागरिकता पाए, जबकी त्यो ३० मिनेटको काम मात्र थियो । यस्तोलाई त सिके राउतले सबक सिकाउनु राम्रै हो । सबै ठाउँमा यस्तै हुनुपर्छ अब ।”– कमला नगरपालिका वडा नं. ५ का सुजीत पासवानले भने ।
जनकपुरमा ईन्जिनीयर कुशवाहामाथि गरिएको व्यहारलाई सहि बताउँदै तरिका मात्र गलत भएको उनले बताए । उनले भने, जहाँ पनि यस्तै छ, जबसम्म ४÷५ जना भ्रष्ट कर्मचारीमाथि यस्तो गरिदैन सुधार गर्न शताब्दी लाग्छ । यसले समाजलाई खोक्ला बनाउँदैछ ।
पासवानले डा. सिके राउत र उनका पार्टीका कार्यकर्ताहरुले देखाएको साहसलाई सबैले साथ दिनुपर्ने धारणा राखे । जनकपुरमा ईन्जिनीयरहरुले डा. राउतको विरोधमा प्रदर्शन गरेको सन्दर्भमा पासवानले उनीहरु पनि भ्रष्ट र भ्रष्टाचारीको पोषक मात्र नभएर कुनै पार्टीको कार्यकर्ता भएर जुलुस गरेको हुनुपर्ने बताए ।
डा. राउतको पार्टीको जनकारवाहीपछि अहिले समाजिक सँजालमा पनि तातिएको छ । समाजिक सँजालमा एक दुई खास राजनीतिक दल समर्थित युवाहरु विरोध जनाएका छन् भने तराई मधेश सहित नेपालको विभिन्न जिल्लाबाट डा. राउतको शैलीलाई समर्थन पनि उत्तिकै गरिएको छ ।
ज्ञातव्य छ, डा. राउतको रयाली, कार्यक्रममा तराई मधेशका युवाहरुले आफ्नो व्यक्तिगत खर्चमा सहभागी हुने गरेका छन् । उनीहरुको क्रेजले डा. राउतलाई झन बलियो बनाउँदै गएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…