'सिके राउत मुर्दाबाद' भन्दै जनकपुरमा विभिन्न पार्टीका ईन्जिनीयरहरुले गरे प्रदर्शन
कुर्शीमा बसेका कुशवाहाले उनीहरुसँग चर्केर बोलेपछि आक्रोसित युवाहरुले उनलाई कार्यालयबाट बाहिर निकालेर कपडा च्यात्दै अर्धनग्न पारी जनकपुर बजार घुमाएको थियो । सोको चौतर्फी आलोचना भएको थियो ।

२०७८ कार्तिक ५ शुक्रबार, बेलुकी ७:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका जनकपुरका ईन्जिनीयरहरुले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको विरोधमा प्रदर्शन गरेका छन् ।
शुक्रबार जनकपुरमा जनमत पार्टीका अध्यक्ष डा. राउतको विरोधमा प्रदर्शन गर्दै कारवाहीको माग समेत गरेका छन् । विभिन्न राजनीतिक दलको भातृ सँगठनसँग आवद्ध रहेका जनकपुरका ईन्जिनीयरहरुले जनकपुरभरि प्रदर्शन गरेका छन् ।
ईन्जिनीयर्स एशोसिएशन प्रदेश २ को प्रादेशिक समितिले ‘सिके चोर, देश छोड’ नारासहित प्रदर्शन गरेका छन् । उनीहरुले ‘सिके चोर, देश छोड’ ‘इन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भन्दै प्रदर्शन गरेका हुन् ।
सिके राउत नेतृत्वको कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहा माथि दुव्र्यवहार गर्दै उद्दण्ड मच्चाएको तथा कुटपिट गरी हिलो छयापेर नगर परिक्रमा गराएको विरोधमा उनीहरु विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल इन्जिनियर एशोसिएशन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामति कर्मचारको आधिकारिक ट्रेड युनियन, नेशनल इन्जिनियर्स एशोसिएशन नेपाल, नेपाल तराई इन्जिनियर्स समाज, मधेशी डेमोक्रेटिभ सोसाइटीले संयुक्तरुपमा प्रदर्शन गरेका छन् ।
इन्जिनियरहरुले पीडित सिडिइ राजेश कुशवाहालाई न्याय देऊ, सिके राउतलाई कारबाही गर, सिके राउतको इन्जिनियर दर्ता खारेज गर भन्दै विरोधमा उत्रेका हुन् । इन्जिनियरहरुलाई सुरक्षाको ग्यारेन्टी गर, घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर भन्दै उनीहरुले विरोध प्रदर्शन गरेको हो ।
जनकपुरधामस्थित रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनका सि.डि.ई. राजेश कुशवाहालाई केही स्थानीय नागरिक सहित जनमत पार्टीका कार्यकर्ताहरुले कार्यालयबाट निकालेर अर्धनग्न पारी बजार घुमाएका थिए ।
ईन्जिनीयर कुशवाहाले भ्रष्टाचार गरेको आरोप सहित स्थानीय नागरिकको गुनासोलाई वेवास्ता गरेपछि विभिन्न निकायमा निवेदन समेत दिएको थियो । निवेदनमा कारवाही नभएपछि विहिबार कार्यालय पुगेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का केही स्थानीय सहित जनमत पार्टीका कार्यकर्ताहरुले ईन्जिनीयर कुशवाहासँग समस्या समाधानको लागि कुरा राखेका थिए ।
कुर्शीमा बसेका कुशवाहाले उनीहरुसँग चर्केर बोलेपछि आक्रोसित युवाहरुले उनलाई कार्यालयबाट बाहिर निकालेर कपडा च्यात्दै अर्धनग्न पारी जनकपुर बजार घुमाएको थियो । सोको चौतर्फी आलोचना भएको थियो ।
यो घटनामा विभिन्न राजनीतिक दलहरु सहित सो दलहरुसँग आवद्ध रहेका विभिन्न पार्टीका ईन्जिनीयरहरुले टाउकोमा कालोपट्टि बाँध्दै डा. सिके राउतलाई पागल भन्दै नारावाजी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…