कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत : प्रम ओली
न्यूज ब्यूरो || काठमाडौँ, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति व

२०७४ चैत ५ सोमबार, बिहान ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमाडौँ, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावना चाँही अथाह रहेको बताउनुभएको छ ।
कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले प्रांगारिक मल उत्पादन गर्ने कारखानालाई प्रोत्साहन गरिने बताउनुभयो ।
“कर्णालीका हरेक उत्पादनलाई अर्गानिक बनाएर बजारीकरण गर्नुहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यहाँका जनवारले जडीबुटी चरेका छन् । तिनीहरुबाट उत्पादन हुने वस्तुको मूल्य अन्यत्रको भन्दा महँगो हुन्छ ।”
कर्णालीको स्याउ, यार्चागुम्बा समृद्धिका स्रोत भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “विकशित देशको औषधि हालेको नक्कली होइन, कर्णालीमा फलेको अर्गानिक स्याउ हो भनेर अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्नुपर्छ ।”
“कर्णालीमा बाटो, पुल बनाउने, प्राविधिक विद्यालय खोल्ने र नयाँ शहर बसाउने जिम्मा सरकारको हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसदेखिबाहेकका काम तपाईंहरु लाग्नुहोस् ।”
कर्णालीको समस्या अवगत गराउन मुख्यमन्त्री शाही, प्रदेश प्रमुख दुर्गाकेशर खनाल, सभामुख राजबहादुर शाहीलगायत मन्त्रीसमेत सहभागी रहनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…