जनकपुरः सुनचाँदी पसलमा दिनदहाडै चोरी, चोरीको गहना बेच्ने र किन्ने दुवै पक्राउ
पक्राउ परेका दुबैजना माथि चोरी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

२०७८ भदौ १९ शनिबार, दिउँसो ४:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको ढल्केवरको एक सुनचाँदी पसलमा गहना चोरी भएको छ । सोही आरोपमा चाँदीको गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार बिहान ९ बजेको समयमा मिथिला नगरपालिका(६ ढल्केवरस्थित स्थानीय शिवजी साहले सञ्चालन गरेको गणेश लक्ष्मी ज्वेलर्सबाट चाँदीको गहना चोरी भएको थियो ।
शनिबार साहले सञ्चालन गरेको उक्त सुनचाँदी पसलबाट चोरी भएको चाँदीको गहनासहित दुई जनालाई पक्राउ गरेको हो ।
पसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको गहनासहित शनिवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ मुलाबारीका १९ बर्षिय टक्कर बहादुर मगराती मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए । उनको साथबाट सात तोला चाँदीको गहना बरामद भएको उनले जनाए ।
प्रहरी निरिक्षक सुवेदीका अनुसार चोरीको गरगहना खरिद गर्ने धनुषाको मिथिला नगरपालिका वडा नं ४ पुष्पलपुर घरभई ढल्केवर बस्ने ३५ बर्षिया सुरेखा देवी यादवलाई समेत पक्राउ गरिएको हो । उनले चोरी गर्ने मगरबाट पाँचतोला चाँदीको गरगहना खरिद गरेको सुवेदीले बताए ।
पसल सञ्चालकको भनाइलाई उदृत गर्दै प्रहरी निरिक्षक सुवेदीले पसलबाट ४८ तोला चाँदी चोरी भएको जनाए । चोरी भएको सबै गरगहना बरामद गर्न थप अनुसन्धान भइरहेको उनको भनाई ।
पक्राउ परेका दुबैजना माथि चोरी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
यता, चोरी भएको पसलका सञ्चालक शिवजी साहले आफ्नो पसलबाट ६ सय ग्राम चाँदीको गहना चोरी भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…