जनकपुरः बैँक तथा वितीय क्षेत्रका कर्मचारीहरु सडकमा
आन्दोलनमा जनकपुर बैंकर्स क्लबका सम्पूर्ण सदस्य तथा बित्तीय संस्थाका १०० बढि कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

२०७८ असार १९ शनिबार, बेलुकी ६:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सामाजिक सुरक्षा कोष विरुद्ध जनकपुरधामका बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु सडकमा उत्रेका छन् ।
सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । शनिबार जनकपुरधामका बैंकिङ क्षेत्रका कर्मचारीहरुले कालो ब्यानर सहित प्रदर्शन गरेका छन् ।
जनकपुर क्षेत्रका बैंकहरुले जनकपुरधामको विभिन्न चोकमा भेला भए संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीहरु असन्तुष्टता जनाउँदै आन्दोलन सुरु गरेको हो ।
कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा कार्यरत कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने अडान राखेका छन् ।
कोषले बैंक तथा वित्तीय संस्थालाई दर्ता हुन आग्रह गरिरहेका बेला कर्मचारीले भने खाइपाई आएको सुविधा नघट्ने सुनिश्चित नभएसम्म कोषमा नजाने बताउँदै आएका छन् ।
अहिलेका व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै विरोध प्रदर्शन गर्नु परेको मुक्तिनाथ बिकास बैंकका प्रदेश प्रमुख प्रभास झाले बताए ।
आईएलओ अभिसन्धि १९४९ ९नं. (८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले तथा खाइपाई आएको सेवासुविधा घट्ने र तिन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रनु परेको उनको भनाइ रहेको छ ।
आन्दोलनमा जनकपुर बैंकर्स क्लबका सम्पूर्ण सदस्य तथा बित्तीय संस्थाका १०० बढि कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
जनकपुरको मिल्स एरियाचोकबाट सुरु गरिएको विरोध रयाली भानुचोक, शिवचोक, जनकचोक हुँदै जानकी मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
रयालीमा जनकपुरधामस्थित सिद्धार्थ बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, बैंक अफ काठमाण्डु, सेन्चुरी बैंक, सिटिजन्स बैंक, एनसिसि बैंकलगायतका बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…