सिडिओ अफिस परिसरमै सहायक सिडिओका छोराद्धारा पत्रकारलाई दुरव्यवहार
सहायक सिडिओ नाथु साहका छोरा आशिष साहले दृश्य खिच्न नदिने भन्दै परिसरमा पस्नसम्म सञ्चारकर्मी यादवलाई निषेध गरेका छन् ।

२०७८ असार १ मंगलबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीमा सिडिओ कार्यालय परिसरमै आज (मंगलावर) सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको छ । कोभिड–१९ विरुद्धको खोप केन्द्र तोकिएको सिडिओ कार्यालय परिसरभित्र देखिएको अव्यवस्थित भीडको दृश्य खिच्न खोज्दा सँचारकर्मी सौरभ यादवमाथि दुर्व्यवहार भएको हो ।
सहायक सिडिओ नाथु साहका छोरा आशिष साहले दृश्य खिच्न नदिने भन्दै परिसरमा पस्नसम्म सञ्चारकर्मी यादवलाई निषेध गरेका छन् ।
‘म दृश्य खिच्न खोज्दा साहले खिच्न नदिने भन्दै आक्रोशित नै हुनुभयो, तपाई रोक्ने को हो ? भनेर पनि सोधे तर उहाँले म जो भएपनि दृश्य खिच्न दिन्नँ उहाँले भन्नुभयो’ एपीवान टेलिभिजनका संवाददाता समेत रहेका यादवले भने–‘त्यसपछि भित्र पस्न खोज्दा पनि तिमी जस्ता पत्रकार धेरै देखेको छु भन्दै साहले भित्र पनि पस्न दिनुभएन ।’
सहायक सिडिओ साहले सञ्चारकर्मीलाई दुर्व्यवहार नगरेको आशिषले बताएको प्रतिक्रिया दिए । यद्यपी, आशिष सो खोप केन्द्रमा के कारणले पुगेको विषयमा सहायक सिडिओ साहसँग जवाफ नै छैन् । ‘उसले दुर्व्यवहार गरेको छैन भने कुरा बताइरहेको छ’ सहायक सिडिओ साहले भने–‘त्यहाँ खोप लिन त आशिष पुगेको छैन, तर नजिकै डेरा छ र त्यहाँका प्रहरीसँग चिनजान भएकाले गएको हुनसक्छ ।’
उता, सिडिओ फणिन्द्रमणि पोखरेलले खोप केन्द्रमा प्रवेश गर्न कसैलाई पनि निषेध नगरिएको प्रतिक्रिया दिए । ‘के भएको हो भन्ने विषयमा बुझ्दै छु, बाँकी कुरा उहाँ (सहायक सिडिओ) सँगै बुझ्नुस् । उहाँ पनि जिम्मेवार व्यक्ति हुनुहुन्छ’, उनले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…