'पार्टी फोडुवालाई पार्टीभित्र राख्दैनौ, उपेन्द्र यादवलाई कारवाही हुन्छ' : नेता महतो
संवैधानिक प्रक्रियाअनुसार फेरि केपी ओली प्रधानमन्त्री हुने सम्भावना बढी देखिएको महतोको विश्लेषण छ ।

२०७८ बैशाख २८ मंगलबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

न्यज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले उपेन्द्र यादवलाई पार्टी फोडने प्रयास गरेको भन्दै अनुशासनको तहत कारवाही गरी निस्कासन गर्ने बताएका छन् ।
उपेन्द्र यादवको सत्तामोहका कारण पार्टी विभाजनको डिलमा पुगेका बताउँदै नेता महतोले आफ्नो ताकत रहेसम्म पार्टी विभाजन रोक्न लागिपर्ने बताएका छन् ।
‘६ वटा दल मिलाएर राजपा बनाइएको थिएँ । त्यसमा समाजवादी पार्टी छुटेको थियो । वैकल्पिक सरकार निर्माणका लागि राजपा र समाजवादी पार्टीलाई रातारात एक गराएका थियौं,’ उनी भन्छन्, ‘कसैले पार्टी विभाजन गर्न खोज्छ भने मेरो ताकत रहेसम्म म त्यसको सपना पूरा हुन दिँदैन ।’
आफ्नै लचकताका कारण आजसम्म जसपालाई विभाजनबाट रोक्ने काम गरेको महतोले बताए । तर, अब उपेन्द्र यादवमाथि कारबाही हुने उनको भनाइ छ । ‘उपेन्द्र यादवले पार्टी फुटाउने अपराध गर्दैहुहुन्छ । उहाँलाई अब कारबाही हुन्छ । पार्टी उहाँलाई अनुशासनको कारबाही गर्छ । गठनबन्धको सरकार निर्माणमा लागि विज्ञप्तिमा हस्ताक्षर कि गर्नुभयो ? यो पार्टी निर्णय विपरीत छ । पार्टीको कुनै आधिकारिक निर्णय भएको छैन,’ उनले भने ।
उपेन्द्र यादवलाई पार्टीबाट निस्काशनसमेत हुने महतो बताए । उनले भने ‘पार्टी फोडुवालाई हामी पार्टीभित्र राख्दैनौं । यसका लागि हामीले पार्टी एकता थोडै गरेको हो ?,’
महतोका अनुसार जसपा सरकारमा नजाने र कुनै गठबन्धनमा सामेल नभएको कुरा प्रथम अध्यक्ष (महन्थ ठाकुर) ले राष्ट्रपतिलाई लेखेर दिनेछन् । त्यसपछि गठबन्धनको सरकार बनाउने खेल खत्तम हुने उनको दाबी छ ।
संवैधानिक प्रक्रियाअनुसार फेरि केपी ओली प्रधानमन्त्री हुने सम्भावना बढी देखिएको महतोको विश्लेषण छ ।
रातोपाटीको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…