बाकसमै जलाउन खोजिएको थियो झा दम्पतिको लास !
शव नजलेपछि बोरामा प्याक गरेर अभियुक्तले घटना दबाउन खाल्डो खनेर गाडेको प्रहरीले जनाएको छ।

२०७७ चैत १६ सोमबार, बिहान ८:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरीस्थित हत्या गरिएका झा दम्पतिलाई बासकमै जलाउन खोजिएको तथ्य सार्वजनिक गरिएको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी थप तीन अभियुक्तलाई सार्वजनिक गर्दै उनीहरुले झा दम्पतिलाई हत्या गरी बाकसमै जलाउन खोजिएको थियो भनेर बताएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडबा गाउँ बस्ने मुसाफिर झा र उनकी पत्नी गीता देवीलाई अपहरण पश्चात हत्या गरेर बाक्सामा शव जलाउन खोजेको थियो ।
आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले स्थानीय तारादेवी झा र उनका दुई छोरा कैलाश र विकासलाई सार्वजनिक गरेको हो।
पिपरा गाउँपालिका–५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्यामा संलग्न रहेको आरोपमा शुक्रबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यका अनुसार उनीहरुले शव जलाउने काम गरेका थिए।
‘कैलाशको घर पछाडि झा दम्पत्तीको घरबाट हराएको कपडा र आधा जलेको बेड फेला परेको छ, ‘एसपी आचार्यले भने,‘हत्या गरेर केही समय टिनको बाक्सामा शव राखेर लुकाइएको थियो। पछि शवलाई जलाउन खोजिएको देखिन्छ।’ दम्पत्तीको घर भन्दा आरोपी तीनै जनाको घर २० मिटर नजिकै पर्छ। उनीहरु मृतका आफन्त पनि हुन्।
बिहीबार बोरामा प्याक गरेर खाल्टोमा गाडेको अवस्थामा गाउँ नजिकै उनीहरुको शव फेला परेको थियो। शव भेटिएपछि प्रहरीले झा दम्पत्तीका छिमेकमा सर्च गरेको थियो। सोही क्रममा शव लुकाउन र जलाउन प्रयोग गरिएको बाक्सा, जलाइएका लुगाफाटो र ओछ्यान फेला परेको प्रहरीले जनाएको छ।
शव नजलेपछि बोरामा प्याक गरेर अभियुक्तले घटना दबाउन खाल्डो खनेर गाडेको प्रहरीले जनाएको छ।
‘दम्पत्तीलाई सुतेको अवस्थामा ओछ्यानमै तिनीहरुले हत्या गरे। शव झोलामा प्याक गरेर बाक्सामा बन्द गरेर राखे,’ एसपी आचार्य भन्छन्, ‘मृतकको शव फेला परेको छ। उनीहरुलाई लुकाइएको बाक्सा पनि भेटिएको छ। घटनाका नयाँ आरोपी पक्राउ परेका छन्। हामी अझै अनुसन्धानमा छौँ, अब घटनाको पक्कै पनि नयाँ तथ्य बाहिर आउँछ।’
जग्गा बिक्री नगरेको विषयमा गएको फागुन १० गते राति ओछ्यानसहित झा दम्पत्ती बेपत्ता भएका थिए। उनीहरुलाई हत्यापछि बेपत्ता बनाइएको थियो।
पक्राउ परेकामाथि हत्या आरोपमा अनुसन्धान सुरु भएको छ। जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद लिइएको छ। दम्पतीको हत्या आरोपमा प्रहरीले हालसम्म सात जनालाई पक्राउ गरेको छ।
दम्पत्ती हत्याको अभियोगमा यसअघि उनका छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका तथा भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…