'गोजी र राजनीतिक पार्टीको पत्रकार नभएर सदस्यता दिइएन'
सक्रिय पत्रकारहरुलाई सदस्यता नदिएर गैर पत्रकार एवम् निष्क्रिीयहरुलाई सदस्यता नविकरण गरेपछि र नयाँ सदस्यता नदिएपछि पत्रकार महासँघ धनुषा शाखाको नेतृत्वमाथि प्रश्न उठाउँदै चर्को आलोचना भएको छ ।

२०७७ चैत ११ बुधबार, बिहान ९:१२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासँघ धनुषा शाखामा आफूखुसी आ–आफ्ना मान्छेलाई महासँघको सदस्यता नविकरण गरेपछि र सक्रिय पत्रकारहरुलाई सदस्यता नदिएपछि चौतर्फी आलोचना भएको छ ।
आउँदो चैत्त २५ गते हुने भनिएको नेपाल पत्रकार महासँघको चुनावको लागि तयारी थालिएको छ भने धनुषा शाखामा आफ्ना गोजीका मान्छेलाई भोट बैंक बनाउन पत्रकारिता नै नगर्ने व्यक्तिहरुलाई सदस्यता नविकरण गरिएको छ भने नयाँ सदस्यता स्थगित गरेको छ ।
सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको लागि गठन गरिएको उप–समितिको नेपाल पत्रकार महासँघ धनुषाका उपाध्यक्ष धर्मेन्द्र झा, सचिव पुरन साह (गुप्ता),उपसचिवद्धय नविन सिँह, अकुल प्रसाद साह र सदस्यबाट नेहा झा लगायतले सदस्यता नविकरण गरेको हो भने नयाँ सदस्यताको लागि सिफारिस गरेको हो ।
धनुषामा निरन्तर सक्रिय भएर काम गर्दै आएका बिनय कुमार यादव, ओम प्रकाश साह, रोहित महतो, कमलेश ठाकुर, सुमित मिश्र, अनिल कुशवाहा, राजा झा लगायतका सक्रिय पत्रकारहरुलाई बायकट गरी गोजीका मान्छेहरुलाई सदस्यता नविकरण गरी सक्रियहरुलाई सदस्यताबाट बञ्चित गरिएको हो ।
नेपाल पत्रकार महासँघले जारी गरेको अन्तिम नामाबलीको क्रममा धनुषाबाट १ सय ७४ जनाको नामसूचिमा गैर–पत्रकारहरुको नाम छयाप्छयाप्पी छ ।
सक्रिय पत्रकारहरुलाई सदस्यताबाट बञ्चित गरेर पत्रकारिता क्षेत्रमा काम नै नगरेका केही सदस्यहरुलाई पहुँच र भोटरको रुपमा प्रयोग गर्न सदस्यता नविकरण गरिएको आरोप छ ।
सो क्रममा विगत ५ बर्षदेखि निरन्तर कार्यरत एवम् पत्रकारितामा सक्रिय रहेका बिनय कुमार यादव, ३ बर्षदेखि सक्रिय रहेका कमलेश ठाकुर, सुमित मिश्रा, रोहित महतोलाई समेत सदस्यता दिएका छैनन् ।
करिब एक दशकदेखि सँचार क्षेत्रमा सक्रिय भएर काम गरिरहेका अनिल कुशवाहालाई समेत बायकट गरिएको छ । यीनिहरुलाई आफ्नो भोट बैंकको रुपमा प्रयोग गर्न नसक्ने भएपछि सदस्यता नदिएको बुझिएको छ ।
उत्तै धनुषाको महेन्द्रनगरबाट केही निष्क्रिय पत्रकारहरुको भने सदस्यता नविकरण गरिएको देखिएको छ । सदस्यता वितरण र नविकरणको लागि बनेको समितिले जातीय सिन्डीकेट कायम गर्न त्यस्तो गरेको आरोप पनि लगाइएको छ ।
सँचारकर्मी कमलेश ठाकुरले घर गृहणी र फिल्डमा खटिने पत्रकार एउटै तराजुमा जोखिएको आरोप लगाए । उनले महासंघको नेतृत्वले एउटै चश्मा लगाएर हेरेको बताएका छन् ।
“किनभने ऊ दलिय र जातीय सिन्डिकेट कायम गर्न खोजे । र, उले त्यो महसुस गर्न सकेनन । अनि पहल गरेनन् । बाँकी त बहाना हो । कुराबाट पन्छिने चाहना हो ।”– उनले भनेका छन् ।
सदस्यताहरुमा जीवनारायण झा, अभय कुमार शर्मा, नवोनारायण झा लगायतलाई गैर–पत्रकार तवरबाट सदस्यता दिएको छ । सदस्यता वितरण समितिमा रहेका धर्मेन्द्र झा एमाले पार्टी (ओली निकट) प्रेस चौतारीका केन्द्रीय सदस्य हुन भने अकुल प्रसाद साह नेपाली काँग्रेसको भातृ सँगठन प्रेस युनियनका उपाध्यक्ष हुन् ।
पुरन साह यसअघि प्रेस चौतारी नजिक थिए भने अहिले जनता समाजवादी पार्टी (जसपा) को भातृ सँगठन प्रेस मँचमा प्रवेश गरेका छन् । यस्तै, नेहा झा भने नेकपा माओवादी केन्द्र (प्रचण्ड निकट) को प्रेस सँगठनकी हुन् ।
यीनीहरुले कसलाई सदस्यता दिने, कसलाई नदिने भनेर आफू अनुकुल निर्णय गरेका हुन् । यीनीहरुले जातीय र दलिय सिन्डीकेट खडा गर्न खोजेको आरोप लगाइएको छ ।
यता, उप–समितिले सक्रिय पत्रकारहरुलाई सदस्यता दिनुपर्ने भनेर जिल्ला समितिमा सिफारिस गरेको थियो । सो क्रममा कागजातमा समान्य त्रुटी भएपनि सक्रियहरुलाई सदस्यता नदिएपछि सचिव पुरन साह र उपाध्यक्ष धर्मेन्द्र झाले फरक मत राखेका थिए । दुवै जनाले सक्रियहरुलाई सदस्यता दिनुपर्ने भन्दै फरक मत राखेका थिए ।
सक्रिय पत्रकारहरुलाई सदस्यता नदिएर गैर पत्रकार एवम् निष्क्रिीयहरुलाई सदस्यता नविकरण गरेपछि र नयाँ सदस्यता नदिएपछि पत्रकार महासँघ धनुषा शाखाको नेतृत्वमाथि प्रश्न उठाउँदै चर्को आलोचना भएको छ ।
उपसमितिले सिफारिस गरेर पठाएको नयाँ सक्रिय सदस्यहरुको नामाबलीको सूचि स्थगित गरिएको हो । पदाधिकारीमा मत बाझेपछि नयाँ सदस्यता वितरण नै नगरी तत्कालको लागि स्थगित गरिएको बताइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…