बालेनलाई रवि लामिछानेले स्थानीय तहको चुनावसम्म मात्रै युज गर्न खोज्दैछः प्रभु साह
प्रधानमन्त्री शाहलाई असफल बनाउने उद्देश्यले मोर्चाबन्दी भएको आरोप

२०८३ कार्तिक ६ शुक्रबार, राति ८:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
सरकार गठन भएको ६ महिना नपुग्दै प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने रणनीति बनाइएको दाबी गर्दै साहले सरकारलाई बाहिरी दलबाट भन्दा आफ्नै पार्टीभित्रबाट चुनौती रहेको टिप्पणी गरेका हुन् ।
शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै साहले रास्वपाभित्रको शक्ति संघर्षले प्रधानमन्त्री शाहको कार्यसम्पादनमा असर पार्न सक्ने बताएका छन् । उनले यस्तो षड्यन्त्रबारे जनताले छिट्टै थाहा पाउने दाबीसमेत गरे ।
साहले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वउपसभापति तथा वर्तमान सभामुख डीपी अर्यालबीच प्रधानमन्त्री शाहलाई असफल बनाउने उद्देश्यले मोर्चाबन्दी भएको आरोप लगाए ।
रास्वपाका नेताहरूको भारत भ्रमणलाई समेत शंकाको दृष्टिले हेर्नुपर्ने साहको भनाइ छ । उनले लामिछानेको यसअघिको भारत भ्रमण, चीन भ्रमणको तयारी र हालै धार्मिक यात्राका लागि भारत गएको प्रसंग उठाउँदै पार्टीका शीर्ष नेताहरूको लगातारको विदेश भ्रमणलाई सामान्य रूपमा लिन नहुने बताए । अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको उल्लेख गर्दै उनले यसबारे प्रश्न उठाएका हुन् ।
पूर्वमन्त्री साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेको आरोप लगाउँदै यसप्रति सचेत रहन आग्रह गरे । रास्वपाको ध्यान देश र जनताको समस्याभन्दा चुनाव तथा सत्ता प्राप्तिमा केन्द्रित रहेको उनको दाबी थियो ।
कार्यक्रममा साहले भने, “घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो । देश र जनताको बारेमा यिनीहरूलाई कुनै चिन्ता छैन । यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ ।”
उनले रास्वपाका सभापति लामिछाने समर्थक कार्यकर्ताहरू सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत हुने गरेको र गालीगलौजले सामाजिक वातावरण दूषित बनाएको आरोपसमेत लगाए ।
साहका अभिव्यक्तिले रास्वपाभित्रको नेतृत्व सम्बन्ध र प्रधानमन्त्री शाहको राजनीतिक भविष्यबारे नयाँ बहस सिर्जना गर्न सक्ने देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…