जनकपुरमा गुठीको जग्गामा अनधिकृत निर्माण र अतिक्रमण नगर्न गुठी संस्थानको चेतावनी
गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले गुठी सम्पत्तिको संरक्षणमा सहयोग गर्न तथा अनधिकृत गतिविधि हुन नदिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

२०८३ मंसिर १० बिहीबार, बिहान १०:१९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले आफ्नो स्वामित्व तथा रेखदेखमा रहेका गुठीका जग्गामा अनधिकृत संरचना निर्माण, जग्गा अतिक्रमण तथा अन्य गतिविधि नगर्न सर्वसाधारणलाई चेतावनी दिएको छ ।
कार्यालयले सूचना जारी गर्दै गुठीका जग्गाहरू धार्मिक, सांस्कृतिक तथा सार्वजनिक महत्वका धरोहर भएकाले तिनको संरक्षण गर्नु सबैको दायित्व रहेको जनाएको छ ।
पछिल्लो समय केही व्यक्ति तथा समूहले गुठी मातहतका जग्गामा अनधिकृत रूपमा संरचना निर्माण गर्ने, जग्गा अतिक्रमण गर्ने तथा विभिन्न संरचना बनाउने गरेको भन्दै कार्यालयमा गुनासो तथा निवेदन प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको हो ।
कार्यालयले आफ्नो लिखित अनुमति र कानुनी प्रक्रिया पूरा नगरी गुठीको जग्गामा कुनै पनि किसिमको निर्माण कार्य, जग्गा भोगचलन वा अतिक्रमण नगर्न आग्रह गरेको छ । त्यस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख छ ।
सूचनाको उल्लंघन गरी कसैले गुठीको जग्गामा अनधिकृत कार्य गरेको पाइएमा प्रचलित गुठीसम्बन्धी कानुन तथा स्थानीय प्रशासन ऐनबमोजिम कडा कानुनी कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ । साथै, त्यस्ता कार्यबाट भएको हानिनोक्सानीसमेत सम्बन्धित व्यक्ति वा पक्षबाट असुलउपर गरिने जनाइएको छ ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले गुठी सम्पत्तिको संरक्षणमा सहयोग गर्न तथा अनधिकृत गतिविधि हुन नदिन सर्वसाधारणसँग आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…