नालामा ढक्कन नराखेपछि हुलाकी सडकको नाला पुरियो, जताततै सडक हिलाम्य, सडक विभाग निरिह
स्थानीयवासीले नालामा तत्काल सुरक्षा ढक्कन राख्न, अवरुद्ध पानी निकास खुलाउन र हिलाम्य सडकको समस्या समाधान गर्न माग गरेका छन् ।

२०८३ मंसिर ३ बिहीबार, बिहान ११:५८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । हुलाकी सडकअन्तर्गत कमला नगरपालिका–२ माचि झिटकैयामा निर्माण गरिएको नालामा सुरक्षा ढक्कन नराख्दा बालबालिकाको ज्यान जोखिममा परेको छ ।
खुला नालामा खसेर दुर्घटना हुन सक्ने त्रास बढेपछि स्थानीयवासीले आफैँ माटोले नाला पुर्न बाध्य भएका छन् । तर त्यसले पानी निकास बन्द भएपछि सडक नै हिलाम्य बनेको छ ।
हुलाकी राजमार्ग आयोजना र सडक विभाग जनकपुरको लापरबाहीका कारण स्थानीयवासीले अहिले दोहोरो सास्ती खेप्नुपरेको छ । एकातिर ढक्कनविहीन नालामा बालबालिका तथा सर्वसाधारण खस्ने जोखिम छ भने अर्कोतिर नाला माटोले पुरिएपछि वर्षाको पानी र अन्य पानी निकास हुन नसक्दा सडक हिलाम्य बनेको छ ।
स्थानीयका अनुसार अन्य गाउँ तथा सडक खण्डमा नालामाथि सुरक्षा ढक्कन राखिए पनि माचि झिटकैयामा भने ढक्कनको व्यवस्था गरिएको छैन । खुला नालाले बालबालिकाका लागि गम्भीर जोखिम निम्त्याएपछि स्थानीयले सुरक्षाका लागि आफैँ माटो भरेर नाला छोपेका हुन् ।
तर स्थानीयले अपनाएको यही बाध्यात्मक उपाय अहिले उनीहरूकै लागि थप समस्या बनेको छ । नालाको निकास बन्द भएपछि सडकमा पानी जम्ने र हिलो हुने समस्या बढेको छ । स्थानीयवासी हिलाम्य सडकबाट आवतजावत गर्न बाध्य छन् ।
सार्वजनिक सडक निर्माण गर्दा यात्रुको सहज आवागमनसँगै पैदलयात्री, बालबालिका र स्थानीय बस्तीको सुरक्षालाई समेत ध्यान दिनुपर्ने हो । तर नालामा आवश्यक सुरक्षा ढक्कन नराखिँदा स्थानीयले आफ्नै सुरक्षाका लागि आफैँ माटो पुर्नुपर्ने अवस्था आउनु निर्माण व्यवस्थापनमाथि गम्भीर प्रश्न हो ।
आखिर अन्य गाउँमा ढक्कन राख्दा माचि झिटकैयालाई किन छुटाइयो ? नालाको निर्माण सम्पन्न गर्दा सुरक्षा ढक्कन राख्ने व्यवस्था थिएन कि आयोजना र सडक विभागले आवश्यक संरचना राख्न बेवास्ता गरेका हुन् ? यसको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ ।
स्थानीयवासीले नालामा तत्काल सुरक्षा ढक्कन राख्न, अवरुद्ध पानी निकास खुलाउन र हिलाम्य सडकको समस्या समाधान गर्न माग गरेका छन् ।
हुलाकी राजमार्ग आयोजना र सडक विभाग जनकपुरले भने यस विषयमा तत्काल ध्यान दिई बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुका साथै सडकको उचित निकास व्यवस्था मिलाउन आवश्यक छ । विकासका नाममा सडक र नाला निर्माण गरेर नागरिकलाई जोखिममा छाड्नु स्वीकार्य नहुने स्थानीयहरुको अडान छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…