प्रदेश २ः भोजमा बोलाएर दलित हो भन्दै छुवाछुत गरेपछि यादव र खडगा विरुद्ध प्रहरीमा उजुरी
जब सबैजना खाना खान लागे, तब यादव समुदायका केही व्यक्तिले दलित भएर सँगै एउटै लाइनमा बसेर खाना खाने भन्दै आपत्ति जनाए ।

२०७७ फागुन १३ बिहीबार, दिउँसो ३:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ को सप्तरीमा दलितलाई भोजमा बोलाएर छुवाछुत गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगमा बिहे भोजमा बोलाएर खाना खाने बेला दलित भएको भन्दै छुवाछूत गर्नेविरुद्ध प्रहरीमा उजुरी परेको हो ।
भोजमा बोलाएर पछि छुवाछूत गर्ने सत्यनारायण यादव र घनानन्द खड्गाविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको हो ।
यादव र खड्गाले स्थानीय १९ वर्षीय सुरजकुमार पासवान र १७ वर्षीय कृष्णकुमार पासवानलाई भोजमा निम्तो दिएर पछि सँगै खान नमिल्ने भन्दै उठाएर पठाएको पीडितले हालेको उजुरीमा उल्लेख छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिसपी नरेश सिंहले आफूहरूमाथि जातीय विभेद भएको भन्दै कृष्णा र सुरजकुमारले उजुरी हालेको जानकारी दिए । थप अनुसन्धानपछि मुद्दा दर्ता हुने उनले बताए ।
पीडित सुरजकुमारका अनुसार सत्यनारायण यादवको छोराको १० फागुनमा आयोजना गरिएको बिहे भोजमा विभेद भएको थियो । ‘बिहे भोजको निम्तो मान्न थुप्रै भेला भएका थिए,’ उनले भने, ‘म र कृष्णाकुमार पासवान लाइनमा थियौं, खाना पस्किसकेको थियो ।
जब सबैजना खाना खान लागे, तब यादव समुदायका केही व्यक्तिले दलित भएर सँगै एउटै लाइनमा बसेर खाना खाने भन्दै आपत्ति जनाए ।
दलितलाई बीचमा बसाएर भोज खान दिए यादव समुदायले भोज बहिष्कार गर्ने भनेपछि सत्यनारायण यादव र घनानन्द खड्गाले हामीलाई उठाएर अर्को ठाउँमा बसेर भोज खान भने । तर हामीले मानेनौं ।’ कृष्णा र सुरज दुवैले भोज छाडेर हिँडेको जानकारी दिए । नयाँ पत्रिकाको अनलाईन सँस्करणमा समाचार प्रकाशित छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…