प्रदेश २ः बाबुले लिएको ऋण तिर्न गएका छोरासँग ब्याजसहित २ करोड मागेपछि...
उनले भने, ‘यति त घरबार बेचेर पनि चुक्ता गर्न सक्दैनौं ।’ मित्रुका दाजुभाइले आफूजस्ता १० जनाभन्दा बढीलाई मिटर ब्याजमा ठगेको आरोप उनले लगाएका छन् ।

२०७७ फागुन १० सोमबार, बिहान १०:४३ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । वैदेशिक रोजगारीबाट घर आएका छोरा मोहमद समीर अन्सारीले बाबुले लिएको ऋण रकम तिर्न खोज्दा मित्रुकाले एक करोड ९० लाख रुपैयाँ हिसाब देखाएपछि अन्सारी परिवार अहिले बिखलबन्दमा परेको छ ।
२०७१ वैशाख २३ मा ऋण लिँदा अन्सारीले मुर्लीको आफ्नो एक कट्ठा १० धुर जग्गा मित्रुकाको नाममा दृष्टिबन्धक गरिदिएका थिए । अन्सारीका अनुसार मित्रुकासँग १३ लाख ६० हजार ऋण लिएकोमा चलनचल्तीमा त्यसको दोब्बर २६ लाख रुपैयाँको दृष्टिबन्धक लिखत पारित गरिएको थियो ।
ऋण चुक्ताका लागि हरहिसाब माग्दा १३ लाख ६० हजारको ब्याज नजोडी ५१ लाख रुपैयाँको जोडिएको छ । ‘त्यही मितिमा मदनका भाइ मुरलीमनोहर मित्रुकाले झुक्याएर २५ लाख रुपैयाँको छुट्टै कपाली तमसुकसमेत गराएका रहेछन्,’ पूर्वप्रहरी निरीक्षकसमेत रहेका अन्सारीले भने, ‘मुरलीमनोहरसँग त एक रुपैयाँ पनि मैले लिएको थिइनँ । एउटै कर्जाबापतको दुइटा कागज गराएका हुन् ।’ वीरगँजबाट प्रकाशित हुने यात्राडेलीको अनलाईन सँस्करणमा समाचार छ ।
बाध्यताको फाइदा उठाएर घरवारविहीन पार्न खोजेको उनको गुनासो छ । मित्रुका दाजुभाइले ठगेको भन्दै अन्सारीले गत माघ १८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी दिएका थिए ।
गत साता प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मित्रुका दाजुभाइलाई छलफलका लागि बोलाएका थिए । ‘त्यो बेला दुवैले १३ लाख ६० हजार रुपैयाँ मात्र कर्जा दिएको स्वीकार गरेका थिए,’ अन्सारीले भने, ‘सीडीओ सापको अगाडि १३ लाख ६० हजार कर्जा सकारे पनि बाहिर आएर पुरानै हिसाब माग्दै छन् ।’
मुरलीमनोहर मित्रुकाले कपाली तमसुकका आधारमा एमडी साहबुद्दिन अन्सारीविरुद्ध अदालतमा लेनदेन मुद्दासमेत दर्ता गराएका छन् । २५ लाख रुपैयाँको सावाँब्याज भराइपाउँ भनी २०७६ पुस २० मा पर्सा अदालतमा मुद्दा दर्ता गराएको अन्सारीले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…