सिरहाका शिक्षक कर्णलाई विद्यार्थीहरुले 'गुरुदक्षिणा' मा दिए घर
श्रीमतीको उपचारमा खट्नुपर्ने भएपछि घर बनाउने समय र खर्च कर्णसँग भएन ।

२०७७ फागुन ६ बिहीबार, दिउँसो १२:४४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सिरहा जिल्ला बस्ने एक शिक्षकलाई उनका विद्यार्थीहरुले गुरुदक्षिणा भन्दै नयाँ बनाएर गुरुदक्षिणा दिएका छन् ।
सिरहाको धनगढीमाई नगरपालिका नैनपुर बस्ने शिक्षक पशुपतिलाल कर्णलाई उनले पढाएका केही विद्यार्थीहरुले घर बनाएर गुरुदक्षिणा दिएका हुन् । कर्णलाई सरस्वति पूजाको दिन २३ लाख रुपैयाँको लगानी बनेको घर गुरुदक्षिणामा दिएका हुन् ।
बागमति प्रदेश चितवन खैरहनीको कंकाली मावि अगाडि सरस्वती पूजाका दिन मंगलबार दिउँसो शिक्षक कर्णलाई गुरुदक्षिणा स्वरुप गुरु आवास नामक घर हस्तान्तरण गरिएको हो । नेपाली सिने जगतका महानायक राजेश हमालको विशेष उपस्थितिमा कर्णलाई उनका विद्यार्थीहरुले घर हस्तान्तरण गरे ।
उनका विद्यार्थीहरु (शिष्य) मिलन लामा, टीका सानु र मनोज महतो लगायतका उनका पूर्वविद्यार्थीले आफ्ना गुरुलाई ‘दक्षिणा’ टक्य्राउन सरस्वति पूजाको दिन गुरु आवास नामक घर सुम्पेर गुरु दक्षिणामा घर बनाएर दिएका हुन् ।
‘२०७६ सालको गुरुपूर्णिमामा घरको जग खन्न सुरु गरेकोमा २०७७ सालको सरस्वती पूजाका दिन गुरुलाई घर नै हस्तान्तरण गरेको पूर्वविद्यार्थी कारी महतोले जानकारी दिए ।
कंकाली स्कुल २०२४ सालमा खुलेको हो । कर्णले २०६९ सम्म उक्त विद्यालयमा पढाए । पहिलाको प्रावि स्कुल निमावि हुँदै २०५४ सालमा मावि भएको हो । ‘म ७ सम्म यहाँ पढें । मावि पढ्न अर्को स्कुल गएँ । ७ कक्षा नपुग्दै मेरो बीचमा पढाइ छुटेको थियो । पशुपति सरले नै स्कुलसँग जोड्नुभयो । पढ्न प्रेरणा दिनुभयो र मैले पढाइ फेरि सुरु गरें,’ महतोले सुनाए ।
कँकाली स्कुलमै आफ्नो सारा जीवन बिताएका शिक्षक कर्णले त्यहाँका धेरै बालबालिकालाई अक्षर चिनाए । “सक्दासम्म यहीं पढाउँछु भन्ने उहाँको रहर हो । तर रहरले मात्रै भएन । उमेर हदले अवकाश पाउनुभयो,’ महतोले भने । कर्णको अर्को इच्छा पनि थियो कि आफूले पढाएको स्कुल हेर्दै जीवनका अन्तिम क्षणहरू बिताउने । जागिरको दौरान संकलन भएको रकमले उनले स्कुल अगाडि ७ धुर जमिन पनि किने ।
‘म २००८ सालमा सिरहामा, अहिलेको धनगढीमाई नगरपालिका नैनपुरमा जन्मेको हो । चितवन २०२६ सालमा आएको हुँ । सुरुमा झुवानीमा पढाएँ । २०२७ सालपछि २०६९ चैतसम्म कंकालीमा निरन्तर पढाएँ,’ कर्णले सुनाए । शिक्षक भएर चितवनमा कर्णको जवानी बित्यो । प्रौढ अवस्था पनि गुज्रँदै छ । ‘अब जीवनका लगभग दुई तिहाइ समय बिताएको स्कुल हेर्दै मरौं भन्ने चाहनाले आडैमा जग्गा किनेको हो,’ उनले भने ।
घर बनाउने योजना रहँदारहँदै श्रीमतीलाई क्यान्सर भयो । ११ वर्षदेखि श्रीमतीको क्यान्सरको उपचार चल्दै आएको छ । अहिले अवस्था धेरै नै राम्रो हुँदै गएको छ । श्रीमतीको उपचारमा खट्नुपर्ने भएपछि घर बनाउने समय र खर्च कर्णसँग भएन ।
प्रावि शिक्षकको दरबन्दीमा आएका कर्ण अवकाश पाउने बेलामा निमावि द्वितीय श्रेणीको तहमा पुगेका थिए । यो तहको शिक्षकले पढाएर मात्रै धेरै खर्च जुटाउन हम्मे हुन्थ्यो । पहिला कर्णका विद्यार्थी र पछि सहकर्मी नै बन्न आएका कारी महतोले उनको चिन्ता ठम्याउन थाले । २०७५ सालमा स्कुलको स्वर्ण महोत्सव थियो । त्यो बेला धेरै नै पूर्वविद्यार्थी जम्मा भएका थिए । कारीले पूर्वविद्यार्थीमाझ ‘कर्ण सर’ को घर बनाउने चाहना सुनाए ।
‘२०७५ सालको माघ १८ गते हामीले घोषणा गर्यौं । पशुपति सरको घर बनाउने धोको हामी पूरा गर्नेछौं भनेपछि उसै दिन चाररपाँच लाख रुपैयाँ जुट्यो । पूर्वविद्यार्थी विजय बुर्लाकोटीले दुई लाख रुपैयाँ दिए,’ कारीले सुनाए । सामाजिक सञ्जालमा सन्देश राखेका आधारमा धमाधम नगद संकलन हुन थाल्यो । दुई पाखे जस्ताले छाएको चारकोठे घर बनाउन र घरमा विभिन्न सामानहरू राख्न झन्डै २३ लाख रुपैयाँ खर्च भयो ।
‘घर बनाउँछु त भनेको थिएँ । तर खै यस्तै दुःख संकटहरू आए । तर विद्यार्थीले मेरो मनोभावना बुझेछन् भन्नुपर्यो । उनीहरू मेरो दुःख देखेरै हुर्केका हुन्,’ कर्ण भन्छन्, ‘घर त मैले पनि जेनतेन बनाउन सक्थें तर विद्यार्थीले गुरुदक्षिणाका रूपमा अर्पण गरे ।’ अब आफ्नो अन्तिम इच्छा त्यही घरमा जीवन बिताउने र मृत्युपछि विद्यार्थीमाझ देवघाटमा अन्तिम संस्कार होस् भन्ने रहेको उनले सुनाए ।
कान्तिपुर दैनिकको अनलाईन सँस्करणमा पत्रकार रमेश कुमार पौडेलले समाचार लेखेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…