सरस्वति पूजामा डिजे र अश्लिल भोजपुरी गीत बजाए हुन्छ कारवाही !
सोही तथ्यलाई मध्यनजर गर्दै यस्ता प्रकारको घटना वा दुर्घटना नहुन दिन जिल्ला प्रशासन कार्यालय सिरहाले कडा कदम चालेको जनाइएको छ ।

२०७७ माघ २९ बिहीबार, बिहान १०:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बसन्त पँचमीको अवसरमा मनाइने सरस्वति पूजामा छाडापन हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले कडा एक्सन लिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले बुधबार एक सूचना जारी गर्दै सरस्वति पूजामा डिजे वा अश्लिल गीत बजाए कारवाही गर्ने चेतावनी दिएको हो । सूचनामा सरस्वतिमा सकभर डिजेको प्रयोग नगर्न आग्रह गर्दै लाउडस्पीकरमा भोजपुरी, मैथिली वा हिन्दी अश्लिल खाले गीत नबजाउन आग्रह गरेको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार, सरस्वति पूजाको नाममा हुने छाडापन, विकृति सम्बन्धी व्यापाक जनगुनासो आएको भन्दै यसलाई न्यूनिकरणको लागि त्यस्तो कदम उठाउन लागिएको बताए ।
उनले जिल्ला प्रहरी कार्यालय सिरहासँग समन्वय गरी सूचनालाई बेवास्ता गर्दै चर्को स्वरमा डिजे घन्काउने, डिजेमा अश्लिल प्रकारको गीतहरु बजाउने, एण्डकोमा अश्लिल गीत बजाउनेहरुलाई जानकारीको आधारमा पक्राउ गरी डिजे समेत जफत गरिनेछ भने सम्बन्धित व्यक्तिलाई कारवाही समेत गरिनेछ ।
यसका साथै, सिरहा जिल्लाभरिका विद्यालयहरुले सरस्वति पूजाको नाममा उठाउने चन्दा समेत नउठाउन सूचना प्रकाशित गरेको हो । विद्यार्थीहरुबाट सरस्वति पूजाकै नाममा समुदायिक तथा नीजि विद्यालयहरुले चर्को चन्दा सँकलन गरिरहेको जनगुनासो आएको भन्दै सिडिओ कणेलले त्यस्तो कुनै पनि चन्दा नउठाउन आग्रह गरेको हो ।
खास गरी तराई मधेशका जिल्लाहरुमा कुनै पनि उत्सवमा मुर्ति सेलाउन (बिसर्जन) गर्ने बेलामा पनि डिजे बाजा सहित अश्लिल गीत बजाउँदै बालबालिकाहरुलाई लिएर जाने प्रवृति देखिएकोले त्यसमाथि पनि सिडिओ कणेलले कडा निगरानी गर्ने भएको छ ।

सूचनामा मूर्ति बिसर्जनको बेला बालबालिकाहरुलाई नदी, पोखरी वा तलाउमा लैजान नपाउने उल्लेख गरिएको छ । विभिन्न समयमा मूर्ति सेलाउने बेलामा किशोर, युवकहरुले मादकपदार्थ सेवन, रक्सी सेवन गरी पोखरी तलाउमा जाँदा अप्रिय घटना हुने गरेको समाचारहरु प्रत्येक वर्ष आउने गरेको छ ।
सोही तथ्यलाई मध्यनजर गर्दै यस्ता प्रकारको घटना वा दुर्घटना नहुन दिन जिल्ला प्रशासन कार्यालय सिरहाले कडा कदम चालेको जनाइएको छ । सिडिओ कणेलको यस कदमलाई चौतर्फी सराहना गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…