नेपाल-भारत बोर्डरको यी नाकाहरु आजदेखि खुल्यो, अब आवतजावत निर्वाध
गृह मन्त्रालयका प्रवक्ता बुढाले महामारीसँगै बदलिएको जीवनयापन, सीमा सुरक्षा रणनीति तथा जनस्वास्थ्यसम्बन्धी जोखिमलगायतलाई मध्यनजर गरेर बाँकी नाका खुलाउने र व्यवस्थित गर्दै जाने बताइएको छ ।

२०७७ माघ १६ शुक्रबार, बिहान ९:३० बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइसरको महामारीलाई मध्यनजर गर्दै बन्द गरिएको केही सीमा नाकाहरु आजदेखि खुल्ला गरिएको छ ।
सरकारले कोरोना भाइरस फैलिन नदिनको लागि भारतसँगेको सीमामा गरेको कडाई र लगाएको नाकाबन्दीहरु खोलिएको हो । यसअघि नै कैयौं नाका खोलिएपनि केही नाकाहरु बन्दै राखिएको थियो ।
सो क्रममा सरकारले आजदेखि धनुषाको दुई वटा नाका समेत खुल्ला गरेको हो । धनुषाको मुख्य नाका मानिने जटही नाका सहित इनरवा नाका समेत खुल्ला गरिएको हो । पूर्वी धनुषाको इनरवा नाका र दक्षिणी धनुषाको जटही नाका खोलिएको हो ।
माघ ११ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार थप १६ वटा नाका खोल्ने निर्णय अनुसार धनुषाको इनरवा नाका र जटही नाका पनि खुल्ला गरिएको छ । सरकारले यसअघि नै १४ वटा नाका खोलेको थियो । अहिलेसम्म भारत र चीन तर्फको गरी कुल ३० वटा नाका खुल्ला गरिएको हो ।
गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएपछि धनुषाको जटही नाका र इनरवा नाका खुल्ला गरिएको हो ।

धनुषासँग रहेको नेपाल भारत नाका खुलाउनको लागि नेपाल भारत सम्वाद समूहका अगुवा राजीव झाले विभिन्न समयमा धर्ना, प्रदर्शन गरी सरकारलाई निरन्तर ध्यानाकर्षण गराएका थिए । धनुषा सहित महोत्तरीको पनि विभिन्न नाका खुलाउन झाको नेतृत्वमा विभिन्न समयमा धर्ना दिइएको थियो ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै झाले भारतको तर्फबाट सबै नाकाहरु खोलिए पनि नेपालको तर्फबाट अझै केही नाकाहरु नखोलिएको गुनासो गरे । भारतसँगको व्यापारलाई मध्यनजर गर्दै सीमा नाकाहरु खोल्न उनले अथक प्रयास गरेका थिए ।
गृह मन्त्रालयका अनुसार झापाको खजुरगाछी, सुनसरीको भन्टाबारी, सप्तरीको कुनौली, धनुषाको जटही र इनर्वा, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा रौतहटको बंकुल बाराको मटिअर्वा र सिम्रौनगढ, नवलपरासीको त्रिवेणी, पश्चिम नवलपरासीको महेशपुर , कपिलवस्तुको तौलिहवा, दाँगको कोइलाबास, बर्दियाको सुरजपुर र सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ला गरिएको हो ।
यसअघि इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरँगको रानी, सिरहाको माडर , रौतहटको गौर नाका, पर्साको बीरगँज नाका, रसुवाको रसुवागढी नाका, कपिलवस्तुको कृष्णनगर नाका, रुपेन्देहीको बेलहिया नाका, बाँकेको जमुनाह नाका, कैलालीको गौरफन्टा नाका, कन्चनपुरको गड्डाचौकी नाका, दार्चुलाको खलँगा नाका, बैतडीको झुलाघाट नाका मात्र खुल्ला गरिएको थियो ।
केन्द्रिय कार्यालय गृहले खुला गरिएका सबै नाकाबाट हुने आवागमनको जनस्वास्थ्यसहित अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार यी नाका हुँदै नेपालीले निर्बाध र विदेशीले निश्चित सर्त र बन्देज पालना गरेर आवागमन गर्न पाउने छन् ।

भारततर्फका नाकाबाट भारतीय नागरिक मात्रै र चीनतर्फका नाकाबाट चीनका नागरिक मात्रै आउन पाउने छन् । भारत र चीनबाहेक देशका नागरिक हवाई मार्गबाट मात्रै आउन पाउने छन् ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा यससम्बन्धी छलफल र समीक्षापछि थप १६ नाका खुलाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद्मा पेस गरेका थिए ।
पछिल्लोपटक खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् ।
भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपाती गर्नसमेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् ।
गत चैत १० देखि नेपाल–भारत सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत साउन २६ मा खुला गरिएको थियो ।
भारततर्फ १ हजार ८ सय ८० किमि सीमामध्ये तराई–मधेसका १० र हिमाली–पहाडी क्षेत्रका तीन तथा चीनतर्फ रसुवागढी–केरुङ नाकाबाट आउजाउ अनुमति दिइएको थियो ।
सीमा नाका निर्बाध खुलाउने वा आउजाउका निम्ति निश्चित नाका तोक्ने भन्नेमा गृह, परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच लामो छलफल र समीक्षा भएको थियो ।
भारतीय नागरिकका हकमा राहदानी आवश्यक नपरे पनि स्वास्थ्य मापदण्ड र यसअघि भारतसँग सीमा जोडिएका तराईरमधेसका १० र पहाडका ४ जिल्लाका १४ वटा नाकाबाट मात्रै आवागमन खुला गरिएको थियो ।
बन्द नाका पहिलेकै स्वरूपमा निर्बाध खुलाउनुपर्ने दबाबपछि सरकारले नाकाबाट हुने आवागमन, त्यसको औचित्य, आवश्यकता, आर्थिक कारोबारलगायत आधारमा नयाँ निर्णय लिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता बुढाले महामारीसँगै बदलिएको जीवनयापन, सीमा सुरक्षा रणनीति तथा जनस्वास्थ्यसम्बन्धी जोखिमलगायतलाई मध्यनजर गरेर बाँकी नाका खुलाउने र व्यवस्थित गर्दै जाने बताइएको छ ।

यता, धनुषासँगै रहेको महिनाथपुर नाका, दुहबी नाका, भररिया नाकाहरु भने अझै खुल्ला गरिएको छैनन् । महिनाथपुर नाकाबाट पूर्वी धनुषा सहित उत्तरी धनुषाका सर्वसाधारणहरु समेत किनमेल र व्यापारको लागि भारत जानुपर्ने बाध्यता रहेको छ ।
यद्यपी, पूर्ण रुपमा महिनाथपुर लगायत यी नाकाहरु नखोलिएपनि सवारी बिना पैदल हिँडेर भने व्यापारीक क्रियाकलापहरु गरिरहेको बताइएको छ । सीमा सुरक्षा बल महिनाथपुरका इन्चार्ज ईन्स्पेक्टर दिलेन्द्र खत्रीका अनुसार, भारतले समेत अझै महिनाथपुरको नाका खोलेको छैन् ।
सीमामा घेराबेरा लगाएर सरकारको निर्देशन अनुसार सवारी साधनलाई आवागमन बन्द गरिएको खत्रीले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…