अख्यितारको ६ घण्टाको छापामारीले पौने तीन लाख सहित पियुन र दलाल पक्राउ
अख्तियारको टोलिले राती १० बजेसम्म निरन्तर ६ घण्टासम्म गरेको सर्च अपरेशनले पियन भोगेन्द्र कापर र दलाल (बिचौलिया) राजकिशोर भगतलाई नियन्त्रणमा लिएको

२०७७ माघ १४ बुधबार, बिहान ७:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यातायात कार्यालय जनकपुरमा मँगलबार गरेको ६ घण्टाको लगातार छापामारीले पौने तीन लाख रुपैयाँ सहित एक दलाललाई पक्राउ गरिएको छ ।
मँगलबार अपरान्ह ४ बजेदेखि नै सुरु गरिएको छापामारी अबेरराती १० बजेसम्म छापामारी गरी अन्तत पौने तीन लाखको हाराहारीमा नगद बरामद गर्न सफल भएको हो । १ करोड रुपैयाँ घुस रकम हुन सक्ने अनुमान गरिएको थियो ।
गोप्य सूचनाको आधारमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको २२ सदस्यीय अख्तियारको टोलीले अबेररातीसम्म कुनाकाप्चा खोज्दै जाँदा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित रहेको यातायात कार्यालयबाट लुकाएर राखिएको सो रकम बरामद गरेको हो ।
यातायात कार्यालयभित्रै लुकाएर राखिएको सो रकम सहित कार्यालय सहयोगी (पियन) र एक दलाललाई रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
अख्तियारको टोलिले राती १० बजेसम्म निरन्तर ६ घण्टासम्म गरेको सर्च अपरेशनले पियन भोगेन्द्र कापर र दलाल (बिचौलिया) राजकिशोर भगतलाई नियन्त्रणमा लिएको अख्तियारको टोलिले जनाएको छ ।
कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराजबाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलिले बरामद गरेको हो ।
यातायात कार्यालयमा दलाली गर्दै आएका भगतले ट्रयाक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली सहित उनलाई दिन पुगेको बयान जाहेर गरेका छन् ।
कम्प्यूटर अपरेटर गिरीलाई उक्त रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलिले उनलाई भित्रैबाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो । त्यसपछि सुक्ष्म रुपमा अख्तियारको टोलीले कुनाकाप्चा,कागजपत्रसम्म खानतलासी गरेको थियो । सो बखत अझै रकम मिल्न सक्ने अनुमान गरिएपनि अन्तत पौने तीन लाख फेला पारेको बताइएको छ ।
को हुन यातायात कार्यालयका गिरी ?
यातायात कार्यालय जनकपुरका अनिल गिरी दलालहरुको लागि हाकीम हुन् । बर्षौदेखि जनकपुर यातायात कार्यालयमै अड्डा जमाएर बसेका गिरीलाई दलालहरुले हाकीम मान्दै आएका छन् । कम्प्यूटर अपरेटर गिरीसँग डिल गरेपछि माथिल्लो कर्मचारीसम्म मिलाउने कार्य गिरीको रहँदै आएको छ ।
उनलाई सरुवा गरिएपनि राजनीतिक पावर र पैसाको पावरको भरमा पुनः जनकपुर यातायात कार्यालयमै अड्डा जमाएर बसेका छन् । नाम नखोल्ने एक कर्मचारीका अनुसार, केही बर्षमा गिरीले करोडौंको सम्पत्ति जोडेका छन् ।
केही महिनाअघि मात्र यातायात कार्यालय नजिकै धान खेतमा ३०० जति लाईसेन्स फेला परेको थियो । त्यसपछि नै अख्तियार दुरुपयोग अनुस्न्धान आयोगको निगरानी बढेको थियो । यातायात कार्यालय जनकपुरबाट राजनीतिक दलका केही नेताहरुको समेत सँलग्नतामा लाईसेन्स विक्री जस्तै हुँदै आएको जनगुनासो बढेको थियो ।
मँगलबार यातायात कार्यालय जनकपुरमा मोटो रकम घुसको फेला पर्ने भनेर अख्तियारलाई सूचना गएपछि बर्दिवासको टोलीले अपरान्ह ४ बजेदेखि नै राती १० बजेसम्म अर्थात करिब ६ घण्टासम्म निरन्तर छापामारी गरेको थियो ।
पक्राउ गरिएका पियन र दलाललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर कार्यालय लगेको छ भने घुस काण्डमा सँलग्न रहेको अन्य कर्मचारीहरुको खोजी भने जारी राखेको छ । अख्तियारको टोली पसेसँगै कर्मचारीहरुले सवारी साधान समेत छाडेर भागेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…