प्रदेश २ः जँगलबाट काठ तस्करीको प्रमुख रुट–'भरतगँज सिँगौल'
त्यसैगरी, निजगढ राजमार्गमा इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी सुरक्षा बेस, निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले चेकजाँच गर्ने गर्छन्। तर अवैध काठ, ढुङ्गाका गाडीहरू पक्राउ परेका छैनन्।

२०७७ पुस १८ शनिबार, बेलुकी ७:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिकाको भरतगंजसिंगौल काठ तस्करीको मुख्य रूट बनेको छ।
निजगढ नगकपालिका वडा न.४ कछडियाटोल विगतमा काठ तस्करीको केन्द्रको रूपमा रहे पनि तत्कालीन जिल्ला वन कार्यालय, बाराले पेशेवर काठ तस्करलाई नियन्त्रणमा लिई कारबाही गरेको थियो। साथै त्यहाँ रहेका सातवटा इँटाभट्टा नागरिक समूहले बन्द गराएको थियो। त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्ज विस्तार भएपछि त्यहाँ काठ तस्करीका घटना ९० प्रतिशत घटेको छ।
त्यसपछि जिल्लाको उत्तरी भेगमा रहेको भरतगंजसिंगौल ५/७ वर्षयता काठ तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको छ। छिमेकी जिल्ला बारा र मकवानपुरको उत्तरी सीमा चुरेतर्फ रौतहटको धन्सार खोलापारि राष्ट्रिय वनक्षेत्रबाट सालको हरियो रूख ढाल्दै आवश्यकता अनुसारको आकारमा चिरान गर्दै बिक्री गर्ने केन्द्रको रूपमा त्यस क्षेत्र परेको छ। त्यहाँ ढालिएका रूखबाट तयार पारिएका चिरान काठ निजगढ, चन्द्रनिगाहपुर, जीतपुर, सिमरा, वीरगंज, हेटौंडा, नारायणगढलगायतका शहरमा पुग्ने गरेको स्थानीय स्रोतले जनाएको छ।
एक साताअघि धन्सारपारिको वन, बस्ती, भरतगंजसिंगौलबाट ना।५च १४८८ नम्बरको पिकअप जीपमा सालको चिरान काठ निजगढतर्फ ल्याउँदै गर्दा राजमार्गस्थित भरतगंजसिंगौल जाने गेट आसपासमा सब डिभिजन वन कार्यालय निजगढका सशस्त्र वनरक्षकसहित वन कर्मचारीले चालकसहितलाई नियन्त्रणमा लिएका थिए।
चालकको बयानको आधारमा यस अवैध कार्यमा संलग्न निजगढका विजय तिमल्सिना भने फरार छन्।
जसमा अवैध ८३ थान सालको चिरान कडी ६४।०४ क्यूफिट रहेको र सोको हालको बजार मूल्य तीन लाखभन्दा बढी रहेको थियो।
पिकअप चालक २७ वर्षीय धर्मराज चौलागाईंलाई डिभिजन वन कार्यालय बाराले अनुसन्धान अधिकारी तोकी थप अनुसन्धान कार्य अघि बढाइरहेको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिएका छन्।
भरतगंजसिंगौलमा अस्थायी प्रहरी चौकी छ। तर पनि गाडीको प्रयोग गर्दै काठ चोर तस्कर, ढुङ्गा चोर तस्कर समूहले निर्बाधरूपमा अवैध धन्दा गरि नै रहेको छ। सो अवैध कार्य बढ्नुमा स्थानीय सुरक्षा निकायहरूको समेत मिलेमतो रहेको स्थानीयहरूको आरोप छ। स्थानीय सुरक्षा निकायको मिलेमतोविना अवैध धन्दा हुनै नसक्ने स्थानीयहरूको भनाइ छ।
यता स्थानीय सुरक्षा निकायहरूले भने आफूहरूले प्राप्त भएसम्मको सूचनाका आधारमा अवैध कार्यलाई निरुत्साहित गरेको जनाएका छन्।
त्यसैगरी, निजगढ राजमार्गमा इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी सुरक्षा बेस, निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले चेकजाँच गर्ने गर्छन्। तर अवैध काठ, ढुङ्गाका गाडीहरू पक्राउ परेका छैनन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…