सिरहा अस्पतालमा साँसद यादवले धाँधली गरेको आरोप
कोरोनाको महामारीमा पनि अस्पताल कर्मचारी र चिकित्सकलाई धाकधम्की देखाउनु निन्दनीय:अध्यक्ष ठाकुर

२०७७ मंसिर १८ बिहीबार, बिहान ९:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहा अस्पतालमा एक प्रदेश साँसदले धाँधली गरेको आरोप लगाइएको छ ।
सिरहा जिल्लाको सिरहास्थित रहेको सिरहा अस्पतालमा बुधबार निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश साँसद प्रमोद यादवले धाँधली गरी कामकाज बन्द गराएको आरोप लगाइएको छ ।
बुधबार नीरिक्षणको लागि अस्पताल पुगेका साँसद यादवले अस्पताल परिसरभित्रै निर्माण हुन लागेको सटर (कोठा) को कामकार्य समेत बन्द गराउँदै अस्पतालको कामकार्य बन्द गराएको आरोप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र ठाकुरले लगाए ।
न्यूज ब्यूरोसँगको कुराकानीमा ठाकुरले आफू अस्पतालकै विशेष कामले राजविराज हुँदा साँसद यादवले अस्पताल कर्मचारीहरुलाई थर्काएको आरोप लगाए । उनले कर्मचारीहरुलाई उदृत गर्दै साँसद यादवले कोरोनाको पिसिआरको कार्य सहित अन्य कार्यहरु बन्द गराएको सुनाए ।
अस्पताल जस्तो संवेदनशिल ठाउँमा तथा कोरोनाको महामारीमा पनि अस्पताल कर्मचारी र चिकित्सकलाई धाकधम्की देखाउनु निन्दनीय रहेको अध्यक्ष ठाकुरले बताए ।
यता, साँसद यादवले भने आफू कुनै प्रकारको धाकधम्की नदिएको बताएका छन् । न्यूज ब्यूरोसँगको जिज्ञासामा उनले अस्पतालको चिकित्सक, कर्मचारीलाई थर्काएको वा धाकधम्की देखाएको कुनै प्रमाण फेला परे कानुन बमोजिम कारवाही सहने बताउँदै झुठो आरोप लगाउनेलाई पनि सजाय भोग्नुपर्ने चेतावनी दिए ।
उनले अस्पताल परिसरभित्रै ग्यारेज स्थापना गरिएपनि त्यसमा २ वटा ट्रयाक्टर र एउटा जेसिबी राखिएको बताउँदै अस्पताल परिसरभित्रै बन्न लागेको नयाँ भवन मापदण्ड विपरित निर्माण हुन लागेको भन्दै आफू काम रोकाएको स्वीकारे ।
उनले अस्पताल जस्तो संवेदनशिल क्षेत्र र परिसरमा भूकम्प प्रतिरोधी भवन नबन्नु पनि भोलीको लागि समस्या हुन सक्ने बताउँदै आम नागरिकको स्वास्थ्यको अधिकारको लागि आफू काम रोकाएको बताए । उनले भवन (सटर) निर्माणको लागि मापदण्ड प्रक्रिया पूरा गरेको कागजात पेश गर्न मात्र भनेको बताए ।
यसका साथै साँसद यादवले अस्पतालको बेतिथिको बारेमा कर्मचारीहरुलाई सम्झाउँदा उल्टै आरोप लगाएको सुनाए । उनले भने,–“अस्पतालमा रिपोर्ट पनि गलत दिरहेको छ डाक्टरहरुले । पार्टीगत हिसाबले रगत चेक गर्दा पनि रक्सी खाएकोलाई नखाएको तथा नखाएकोलाई खाएको रिपोर्ट बनाउने गरेको छ र त्यसको प्रमाण मसँग छ ।”
यता, सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले आज दुवै पक्षलाई बोलाएर छलफल गरिने बताए । साँसद यादव र अस्पताल प्रशासनलाई बोलाएर दिउँसो छलफल गरिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…