ढुँगा गिट्टी जफत गरिएपनि रोकिएन चोरी निकासी
ढुङ्गा चोरी, तस्करी गर्न सघाउने समूहमा केही स्थानीय पनि रहेको उनीहरूको भनाइ

२०७७ कार्तिक २८ शुक्रबार, बेलुकी ६:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिकाभित्र अवैध रूपमा सङ्कलन गरि राखेको ढुङ्गा निजगढ नगरपालिकाले जफत गरेपनि अझै ढुङ्गा चोरी, तस्करी रोकिएको छैन।
निजगढस्थित लाल बकैया खोलाबाट दिनहुँ ढुङ्गा चोरी तस्करी भइरहेको छ। नियन्त्रणका लागि निजगढ नगरपालिकाले खासै चासो नदेखाएको कारण ढुङ्गा तस्करी नियन्त्रण्मा नआएको स्थानीयको टिप्पणी छ।
ढुङ्गा चोरी, तस्करी गर्न सघाउने समूहमा केही स्थानीय पनि रहेको उनीहरूको भनाइ छ। बितेको भदौ यता मात्रै निजगढतर्फ लाल बकैया खोला, भरतगंजसिगौलतर्फ धन्सार खोलाबाट अवैधरूपमा ढुङ्गा उत्खनन गरी सङ्कलन गर्न १५ देखि २० लाख रुपियाँ केही स्थानीयले पेश्की बुझेको खुलासा भएको छ।
उनीहरू धमाधम खोलाबाट ढुङ्गा ओर्साने र भण्डारण गर्न सक्रिय भएका छन्। डेढ महीना अघि जफत गरेको ढुङ्गालाई निजगढ नगरपालिकाले ठेक्का लगाएको छ।
अवैधरूपमा उत्खनन गरिएका ठूलो परिमाणमा ढुङ्गा, निर्माणाधीन आर्थिक विकास क्षेत्र सेजमा प्रयोग हुने चर्चा सँगै यस कार्यमा झन् तीव्रता आएको छ। प्राकृतिक रूपमा खोला बगरको माथिल्लो सतहमा रहेका नदीजन्य पदार्थ आइइई रिपोर्ट अनुसार स्वीकृत स्थानबाट सङ्कलन गर्न पाइन्छ।
तर, निजगढका खोला बगरमा ट्याक्टरले जोतेर ढुङ्गा उत्खनन हुँदै आएको छ। चाडपर्वको समयमा झनै ढुङ्गा उत्खनन गर्नेहरूको सङ्ख्या र सक्रियता बढेको छ। निजगढ नगरपालिकाले खोलामा आश्रित स्थानीयको जीवनयापनलाई ध्यानमा राखी तोकिएको स्थानबाहेक अन्यत्र खोलामा पस्न निषेध गरेको छ।
यस अघि निजगढ नगरपालिकाको क्षेत्रभित्र पर्ने लालबकैया र धन्सार खोलाबाट अवैध रूपमा उत्खनन, सङ्कलन गरी विभिन्न स्थानमा राखेको १३ हजार ८१४।७८ घनमिटर ढुङ्गा नगरपालिकाले जफत गरी ३६ लाख ९ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको छ।
सो परिमाणको ढुङ्गा न्यूनतम ३४ लाख ११ हजार ६५८ रुपियाँमा ठेका सकार गर्न निजगढ नगरपालिकाले आह्वान गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…